Logo

सरकारलाई नेपाल बारको सुझाव



काठमाडौँ, २० चैत । नेपाल बार एसोसिएसन अन्तर्गतको मानव अधिकार तथा जनसरोकार समितिले मुलुक फर्कने क्रममा सीमामा अलपत्र रहेका नागरिकलाई तत्काल स्वदेश फर्कने व्यवस्था मिलाउन माग गरेको छ ।

समिति संयोजक एवं बारका पूर्वमहासचिव सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै देश प्रवेशको सुनिश्चितता गरी स्वास्थ्य सम्बन्धमा विशेष व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “संविधानको धारा ४५ को मर्म र भावना अनुसार महामारीका बेला आफ्नो मुलुक फर्किन चाहना राखी सीमामा अलपत्र परेका सम्पूर्ण नागरिकको तत्काल देश प्रवेशको सुनिश्चितता गरी उनीहरूको स्वास्थ्यको सम्बन्धमा विशेष व्यवस्था गरियोस् । ”समितिले महामारीबाट नागरिकलाई सुरक्षित राख्न सबै खालका उपाय अवलम्बन गर्न पनि सरकारसँग माग गरेको छ । समितिले लकडाउनको अवधिमा न्यून आय भएका र दैनिक ज्यालादारीमा जीवन निर्वाह गरेका सबै नागरिकलाई बिनाभेदभाव बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ ।

दैनिक ज्यालादारी र विपन्नलाई खाद्यान्न उपलब्ध गराउन भने सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ । यस्तै सरकारले पनि स्थानीय तहका वडामार्फत लगत सङ्कलन गरेर न्यूनतम खाद्यान्न दिने गरी निर्णय गरिसकेको छ । यद्यपि कार्यान्वयन भइसकेको छैन । यस्तै समितिले विभिन्न मुद्दामा कारागार र हिरासतमा रहेका कैदीबन्दीको न्यूनतम स्वास्थ्य सुनिश्चितताको माग गरेको छ । जसका लागि कैदीलाई ससर्त वा बिनासर्त रिहाइ, सजाय स्थगन वा अन्य व्यवस्थातर्फ पहल गर्न सरकारसँग आग्रह गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्