Logo

हाइड्रो पावरको काम रोकियो कामदार सुरक्षित



काठमाडौँ, २१ चैत । सोलुखुम्बुमा निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरको काम १० दिनदेखि ठप्प बनेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि गरेको लकडाउनका कारण जिल्लामा निर्माणाधीन हाइड्रोपावरको काम पनि ठप्प बनेको हो ।

अधिकतम भारतीय नागरिक कामदार रहेको हाइड्रोवारको काममा कोरोनाको प्रभाव परेको हो । सरकारले कुनै पनि विकास निर्माणका आयोजना सञ्चालन गर्न नपाइने भनेपछि तत्कालका लागि काम बन्द गरिएको बेनी हाइड्रोपावरको निर्माण कम्पनीका सुपरभाइजर फुरिन्जी शेर्पाले जानकारी दिएका छन् । त्यस्तै सोलु खोलामा निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु हाइड्रोपावर, सोलुखोला दूधकोसी आयोजना ८६ मेगावाट र लिखु ए, लिखु १ र लिखु २ को पनि काम ठप्प भएको निर्माण कम्पनीले जनाएको छ ।

तल्लो सोलु हाइड्रोपावरमा भारतीय कामदार चार सयसहित करिब आठसय जना कामदार रहेका छन् । उनीहरूलाई सुरक्षित तवरले कम्पनीकै मातहतमा नै राखिएको छ । रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु नदीमा निर्माणाधीन तीन हाइड्रोपावरमा काम गर्ने भारतीय र नेपाली दुवै कामदारलाई अस्थायी क्वारेन्टाइनमा राखिएको बताइएको छ । हाइड्रोपावरको काम ठप्प हुँदा निर्माण अवधि लम्बिने कम्पनीले जनाएका छन् ।

उपभोक्तालाई महसुल छुट
लकडाउन अवधिमा आयआर्जनका क्रियाकलाप रोकिएको भन्दै सोलुखुम्बुको सोलुखोला लघुजलविद्युत् आयोजनाले आफ्ना उपभोक्ताको एक महिनाको विद्युत् महसुल छुट दिने भएको छ ।

थुलुङ दूधकोसी गाउँपालिका वडा नं. १ नेले र वडा नं. २ काँगेलका नौ सय परिवारलाई विद्युत् वितरण गर्दै आएको आयोजनाले दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने अधिकांश उपभोक्ताको अवस्थालाई ध्यानमा राखेर अप्रिल महिनाको विद्युत् महसुल आयोजनाले नै भुक्तानी गरिदिने निर्णय गरिएको सचिव घनराज सुनुवारले जानकारी दिएका छन् ।

आयोजनाले हरेक उपभोक्तालाई स्मार्ट बक्स वितरण गरेर रिचार्ज प्रणाली सुरु गरेको छ भने उपभोक्तालाई न्यूनतम शुल्क दुई सयमा २० युनिट विद्युत् मासिक रूपमा वितरण गर्दै आएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्