काठमाडौं, २१ चैत्र । कोरोना भाइरसको महामारीसँग सिंगो विश्व जुधिरहँदा देशभित्र लकडाउन छ । लकडाउनको सास्ती खेप्दै जनताले सरकारलाई साथ दिइरहेका छन् । तर, सरकारको कतिपय कामकारबाही विवादमा परेका छन् ।
सरकारका मन्त्री देखि प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरु सामान खरिद देखि लकडाउनमा फाष्ट ट्रयाकको परामर्शदाता चयनले विवादमा मुछिएका छन् । अनलाइन पत्रिका ह्याकमा प्रधानमन्त्रीका आइटी विज्ञ अस्गर अलीको संलग्नता खुलेपछि नयाँ विवाद उठेको छ ।
सरकारले स्वास्थ्य सामाग्री खरिदका लागि दिएको ठेक्का विवादमा पर्यो । महङ्गोमा सामान ल्याउने देखि गुणस्तरहीन सामान ल्याएको खुलेपछि आधा अर्बको अनियमितताको विषयले तरंग ल्यायो । सामान खरिद ठेक्का रद्द त भयो त्यसले संकटमा नाफाखोर र कमिशनखोरहरुको गतिविधि उजागर भयो । सरकारमा रहेका जिम्मेवार अधिकारीहरु विवादमा मुछिए ।
रक्षा मन्त्रालय अन्र्तगत रहेको नेपाली सेनाले फाष्ट ट्रयाकको परामर्शदाता टुंग्याएर आशयपत्र लकडाउनका समयमा दियो । साँढे दुई अर्बको परामर्शदातासम्बन्धी ठेक्का कोरियाली कम्पनि युसिनलाई दियो । दुई घन्टामै आशयपत्र दिनु देखि लकडाउनको समय पारेर निर्णय लिनुले विवाद जन्मिएको छ । यसमा सरकारका उच्च अधिकारीहरुको समेत दबाबले भूमिका खेलेको बुझिएको छ ।
सरकारका आइटी विज्ञ अस्गर अली अहिले विवादमा छन् । उनले समाचार ह्याक गरेको खुलेको छ । साइबर अपराध गरेको भन्दै नेपाल पत्रकार महासंघले कारबाहीको माग गरेको छ । काठमाडौं एक्सप्रेसको एडमिनमा गएर समाचार हटाउने भूमिका खेलेको खुलेको हो ।
जिम्मेवार मन्त्री देखि प्रधानमन्त्रीका सल्लाहकार सम्म विभिन्न विवादमा मुछिएका छन् । त्यो पनि महासंकटको बखत । यसले सरकारको लोकप्रीयता खस्काउने अवस्था बनेको छ ।