Logo

औषधी प्रकरणपछि ओली-पोखरेलविरुद्ध नेकपाभित्र मोर्चाबन्दी



काठमाडौं, २२ चैत्र । देश कोरोना भाइरसको रोकथामका लागि लकडाउन हुँदा राजनीतिक विषय ओझेलमा परिरहेको छ । तर, औषधी खरिद प्रकरणले सरकार चुक्न पुगेको छ ।

महामारीसँग देश जुधिरहँदा एक अर्बभन्दा बढीको औषधी खरिद प्रकरण विवादमा पर्दा सरकार सम्झौता नै रद्द गर्ने अवस्थामा पुग्यो । तर, यो प्रकरणमा आधा अर्ब अनियमितताको विषय जानकारहरुले बाहिर ल्याए । सरकारको साख नै गिर्न पुग्ने गरी जसरी विषयहरु आए त्यसले प्रधानमन्त्री केपी शर्मा ओलीले चासो लिए । उनको चासोका कारण सम्झौता रद्द गर्न लगाइयो । यी सारा घटनाले देशभित्र ओली सरकारको चर्को आलोचना भइरहेको छ । उनको क्यबिनेटका केही मन्त्रीहरु देखि सल्लाहकारहरु समेत विवादमा परेका छन् ।

औषधी खरिद प्रकरण र सेनाले परामर्शदाताका लागि लकडाउनका समयमा प्रक्रिया टुंग्याएपछि सरकारभित्रका केही मन्त्रीहरु विवादमा मुछिएका छन् । विशेषगरी रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेल दुवै निर्णयमा अप्रत्यक्ष संलग्न रहेको विषय नेकपाभित्र उठ्न थालेको छ । नेकपाका प्रभावशाली नेताहरुले यसबारे चासो दिन थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार औषधी खरिद प्रकरणलगायतका पछिल्लो घटनामा सरकार आलोचित भएकोबारे नेकपामका सचिवालयका केही सदस्यहरुबीच टेलिफोन सम्पर्कबाट कुराकानी भएको छ । सचिवालयमा रहेकामध्ये अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य ईश्वर पोखरेलबाहेक सातजनाले सम्पर्क माध्यममार्फत् छलफल बढाइसकेको बुझिएको छ । उनीहरुले छिट्टै बैठक बसेर आगामी रणनीतिबारे छलफल गर्ने टुंगो लगाएका छन् ।

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय सदस्य डाक्न आग्रह गरिसकेका छन् । उनले औषधी खरिद प्रकरणमा सरकार बदनाम भएको भन्दै तत्काल समिक्षा गरी उचित निर्णय लिनुपर्नेबारे अन्य सचिवालय सदस्यहरुसँग छलफल गरिसहेको बुझिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उपाध्यक्ष वामदेव गौतमका अलावा वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेलले पनि कुराकानी गरिसकेको स्रोतले बतायो । नेताहरुले पार्टीलाई बदनामीबाट बचाउन तत्काल आवश्यक कदम चाल्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने गरी तयारी गरिसकेका छन् । त्यस अगावै ओली र पोखरेलबाहेकका केही नेताहरु छलफल गरेर सचिवालय बैठकमा राख्ने धारणामा एकमत हुने तयारी समेत भएको बुझिएको छ ।

कोरोना भाइरसको रोकथामका लागि भइरहेको लकडाउनका समयमा सरकार अलोकप्रीय हुने घटनाको विकास भएकोमा समेत ओली इतरका नेताहरुले चासो बढाएका छन् । उनीहरुले नेकपाको छवि नै बिग्रने अवस्था बन्न नदिन प्रधानमन्त्री ओलीलाई कठोर कदम चाल्न वाध्य बनाउने गरी दबाब सृजना गर्ने गरी छलफल चलाएको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्