Logo

कोरोनाविरुद्ध सामूहिक रुपमा लडौँः मन्त्री ढकाल



काठमाडौं, २४ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै उपचारका लागि प्रयोग गरिने बताएका छन्। कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग सोमबार मन्त्रालयमा जानकारी लिएर निर्देशन दिनेक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन् । उनले भने,‘जुन अस्पतालमा कोरोनाका बिरामीको उपचार हुन्छ, त्यो अस्पताल पूर्ण रुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरौँ ।’

मन्त्री ढकालले टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पताल पूर्ण रुपमा कोरोनाका लागि उपचार सुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउने जानकारी दिए। उनले सबै मिलेर काम गर्दामात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाइँमा पनि सामूह रुपमै काम गर्नुपर्ने बताएका छन् । उनले भने,‘एक व्यक्तिले भन्दा सामूहिक रुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।’

उनले जस्तोसुकै चुनौति पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कामहरु अघि बढाउनुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए।

कोराना उपचारका लागि तयार गरिएका अस्पतालहरुको तयारीका बारेमा अनुगमन टोलीको तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरुको अवस्थाको बारेमा बताएका थिए । टोलीले कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी अस्पताल रहेका छन । अनुगमनमा छ वटै अस्पतालहरु कोरानाको उपचारका लागि पूर्ण रुपमा तयार भएको पाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्