Logo

संघीय संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस



काठमाडौँ, २५ चैत । संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । कोरोना भाइरस (कोभिङ –१९) जोखिम न्यूनीकरणका लागि लकडाउन भएपछि चैत ७ गतेयता दुबै सदनका बैठक बस्न सकेका छैनन् ।

प्रतिनिधिसभा चैत ३० गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । भने, राष्ट्रियसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस भएको जानकारी दिएका छन् । सोमबार रातिबाटै अधिवेशन अन्त्य हुनेगरि सिफारिस गरिएको हो । कोरोना संक्रमण जोखिम बढेपछि फागुन अन्तिम सातादेखि नै अधिवेशन अन्त्यका लागि सांसदहरुले माग गर्दै आएका थिए ।

संघीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार रातिबाटै अन्त्य हुनेगरि जानकारी प्राप्त भएको बताएका छन् । योगीले भने, ‘सोमबारदेखि नै अन्त्य हुने जानकारी हामीले पाएका छौँ । आजै सूचना पाटीबाट हामी जानकारी दिन्छौँ ।’ नियमावलीको व्यवस्था अनुसार अधिवेशनको कुनै पनि बैठक नचलेको अवस्थामा सूचनाद्वारा अन्त्यको जानकारी दिइन्छ । बैठक चलिरहेको अवस्थामा भने सदनबाट नै अधिवेशन अन्त्यको जानकारी दिने प्रचलन छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्