काठमाडौं, २५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको आज अपरान्ह ४ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेत गराउने तयारी भएको छ । सरकारको कतिपय कार्यशैलीलाई लिएर पार्टीको साखमाथि चुनौती बढेको भन्दै ओलीलाई गम्भीर बन्न भन्दै सचेत गराउने गरी ओली इतरका नेताहरुले तयारी गरेका छन् ।
सरकार औषधी खरिद प्रकरणमा विवादमा परेको, सेनालाई खरिदको जिम्मेवारी दिन खोजेको, राहतमा अलमल भइरहेको, सरकारका कतिपय निर्णय पार्टीमा छलफल नगरी गरेको विषय ओली इतरको समूहले उठाउने भएको विश्वस्त स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दिएको छ । बैठकमा पार्टीका पछिल्लो कदम र भूमिकाबारे गम्भीर समिक्षा हुने एक सचिालय सदस्यले बताएका छन् । ती सदस्यले भने, ‘सरकारबाट त्रुटीहरु भएकाले अहिलेलाई सच्याएर बढ्न सचेत गराउँछौं ।’
यसअघि ओलीप्रति कडा रुपमा प्रस्तुत हुँदै आएका नेताहरुले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए । दबाब बढेपछि आजका लागि सचिवालय बैठक बोलाइएको हो । सचिवालयमा ओलीको पक्षमा ईश्वर पोखरेल मात्र दरिलो रुपमा उभिएका छन् । महासचिव विष्णु पौडेल मध्यमार्गी देखिएका छन् । अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा बादलको पूर्व माओवादी समूह अझै एकजुट छ । पूर्व एमालेबाट वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम ओलीप्रति निकै असन्तुष्ट बन्दै गएका छन् ।
खनाल पछिल्लो समय ओलीको भूमिकाप्रति निकै असन्तुष्ट छन् । उनले सरकारको सार्वजनिक रुपमा आलोचना गर्न थालेका छन् । नेपाल पनि सन्तुष्ट छैनन् । उपाध्यक्ष वामदेव गौतम ओलीसँग निकै टाढिएका छन् ।
ओली सचिवालयमा अल्पमतमा रहेपनि कोरोना भाइरसको संक्रमणसँग सिङ्गो देश जुधिरहेकाले सरकारमाथि नै संकट आइहाल्ने अवस्था भने छैन । तर, कम्पन भने बढिरहेको छ ।-File Photo