चैत २५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले अहिलेको पुस्ताका लागि कोरोना भाइरस गम्भीर चुनौति बनेको टिप्पणी गरेका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना जस्ता महामारीविरुद्ध मानव जातिले जित हासिल गरेको इतिहास धेरै भएको उल्लेख गर्दै यसपटक पनि समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
कोरोनाविरुद्ध सरकारले समयमै चालेको उपयुक्त कदमले सयौँको ज्यान जानबाट जोगिएको ओलीको भनाइ छ । कोरोनाको जोखिम कम गर्नका लागि यतिबेला लक डाउन अपरिहार्य रहेको भन्दै ठूलो लक डाउनले नै कोरोना नियन्त्रणमा महत्वपूर्ण सहयोग पुगेको बताए । ओलीले लक डाउन पालना गरेर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
स्थानीय समुदाय र विभिन्न संघ संस्थाबाट राम्रो भूमिका भइरहेको भन्दै उनले अहोरात्र खटिएका जनप्रतिनिधीप्रति हार्दिक सम्मान गर्नुपर्ने बताए ।
जोखिम अझै यथावत छ । सचेत हुनुको विकल्प छैन । सामाजिक दुरीका लागि लक डाउन आवश्यक छ । ओलीको भनाई छ । यो अवधिमा धेरै व्यवसायीको उद्योग बन्द भएको छ र विद्यार्थीहरुले पढ्न नपाएकोप्रति ओलीले चिन्ता व्यक्त गरेका छन् ।
त्यसैगरि कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको उच्च मूल्याङ्कन गर्नुपर्नेमा ओलीले जोड दिएका छन् । यो अवधिमा मित्रराष्ट्रको सद्भाव र सहयोग अतुलनिय रहेको ओलीको भनाई छ । कोरोनाविरुद्ध नेपालले चालेका कदम अन्य विकसित राष्ट्रको भन्दा बढि उपयोगि भएको ओलीको दावी छ ।
विदेशबाट नेपाल आएका नागरिकबाट स्थानीयमा सरेसँगै दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै ओलीले थप सचेत हुनुपर्ने बेला आएको बताए । कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसीले युद्धस्तरमा काम गरिरहेको ओलीको दावी छ । कोरोना पहिचान र परीक्षणपछि उपचार कार्य प्रभावकारी भइरहेको उनको भनाई छ ।
सम्बोधनका क्रममा ओलीले ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेन्टाइन निर्माण भएको जानकारी दिए । त्यसैगरी अहिले ९ हजार १ सय ६८ जना क्वारेन्टाइनमा राखिएको र ३ हजार ६ सय ६८ क्षमताको आइसोलेसन तयार भएको पनि जानकारी दिए ।
स्वास्थ्य सामग्रीको अभाव हुन नदिन आपूर्तिका लागि विशेष व्यवस्था गरिएको बताउँदै उनले सरकारले संवैधानि व्यवस्थाभित्र रहेर काम गरेको दावी गरे । स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे उठेका प्रश्नको घुमाउरो जवाफ दिदै ओलीले मिडिया र सामाजिक संजालमा उठेका कुराप्रति आफ्नो ध्यान गइरहेको बताए । त्यस्तो प्रवृत्तिलाई ओलीले बेमौसमी बाजा भनेका छन् ।
मिडिया र सामाजिक सांजलमा भइरहेको आलोचनाप्रति मेरो ध्यान गइरहेको छ । यस्तो प्रवृत्ति बेमौसमी बाजा हो, किमार्थ स्वीकार गर्न सकिदैन । ओलीले भने ।
उनले भूकम्पको बेला जस्तै धैर्यता र साहस प्रकट गर्न आह्वान पनि गरेका छन् ।
ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।
विदेशबाट आएकाले क्वारेन्टाइनमा नबसेकाले थप चिन्ता थपिएको छ। तत्काल क्वारेन्टाइनमा जानुस्। तपाईंका कारण परिवार, समुदाय र मुलुक नै जोखिममा पर्ने भएको छ,’ उनले भने। संक्रमणको जोखिमलाई न्यून गर्न सीमामा आएकालात्तई प्रवेश गर्न नदिइएको उनको भनाइ थियो। भारतबाट आएर सीमानामा रहेका २ हजार १४७ नेपालीलाई भारतमा नै राखिएको प्रधानमन्त्रीको भनाइ थियो । त्यस्तै भारतीय ७ भन्दा बढी नागरिकलाई नेपालमा नै व्यवस्थापन गरिएको उनले सुनाए ।