Logo

दाङमा लकडाउन कायान्वयन गराउन बिहानैदेखि प्रहरी परिचालन



शरद रेग्मीः दाङ, १ बैशाख । दाङमा लकडाउन उलंघन भएको गुनासो बढेसगैं आज बिहानैदेखि जिल्ला प्रहरी कार्यालय दाङले ठाउँठाउँमा प्रहरी परिचालन गरेको छ । घोराही, तुलसीपुर, लमही भालुबाङसहित गाउँगाउँमा समेत सर्बसाधारणलाई घरभित्र बस्न अनुरोध गर्न एकाबिहानै प्रहरी टोल टोलमा पुगेको छ ।

खाधान्नका पसलहरुमा देखिएको भिडभाड ब्यबस्थापन र सामाजिक दूरी कायम गर्न भन्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता चक्र डम्मरपालको नेतृत्वमा चोकचोकमा प्रहरी तैनाथ गरिएको हो । नागरिकहरुलाई अति आबश्यक कामबाहेक घरमै बस्न स्थानीय प्रशासनले यसअघि बारम्बार अनुरोध गरेपनि अटेरि गरेर लकडाउनको उलंघन गरेको भन्दै प्रहरीे आजबाट कडाई गर्नुपरेको प्रबक्ता डम्मर पालले जानकारी दिए ।

कोरोनाको संक्रमण फैलिन नदिन र कोरोना रोगबाट बच्न सरकारले लागु गरेको लकडाउन उल्लघन गर्ने अधिकार कसैलाई नभएको भन्दै प्रहरीले सामान्य बल प्रयोग गरेर भएपनि सर्बसाधारणको स्वास्थ्य सुरक्षा कायम गर्नुपर्ने भन्दै बिहानको समयमा खुल्ला रहेका पसलहरु समेत बन्द गराएको थियो ।



प्रतिक्रिया दिनुहोस्