Logo

सीतालाई सुगाको श्राप



सीता मिथिलाको राजा जनकको सबैभन्दा जेठी छोरी थिईन । आर्दश नारीको रुपमा परिचित सीताको जन्म तथा अन्त्य दुवै रोचक, मार्मिक तथा अर्थपुर्ण हुनाको साथै रहस्यमयी छ । साँच्चै भन्ने हो भने सीताको आमा बुवा दुवै अज्ञात छन् । विभिन्न शब्दकोषमा सीता शब्दको अर्थ खोज्दा जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलोको फालीबाट धर्तीमा निर्मित रेखा रहेका छन् । यज्ञ भुमी तयार गर्न राजर्षी जनकले हलो चलाउँदा त्यही भुमिबाट सीता प्रकट भएको किम्वदन्तीमा उल्लेख छ ।

देवी भागवतका अनुसार लङ्काधीपति रावणले आफ्नो पहिलो सन्तान ( कन्या) लाई सन्दुकमा बन्द गरेर धर्तीमा गाडिदिएको थियो र त्यो स्थान जनकपुरको थियो । मय राक्षसकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंश समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो । अद्भुतरामायण अनुसार त्यतिखेर रावणको अत्याचार ज्यादै बढेको थियो । ऋषि तपस्वीलाई उसले निकै कष्ट दिन्थ्यो । तपस्यारत ऋषि, तपस्वीको शरीरमा बाणले घोच्दै रगत झिकेर घैंटामा भ¥थ्यो । गृत्समद ऋषि पनि त्यहिँ तपस्या गरीरहेका थिए । उनी सधै कुशको अग्रभागबाट निस्किएको दुध घैंटोमा जम्मा गर्थे । रावणले यस कुराको चाल पाई त्यो घैंंटो चोरी दुध जति आफ्नो घैंटोमा भरेका थिए । रावणबाट दिक्क भएकी मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दुध खाइदिइन् । मन्दोदरी त मरिनन् तर त्यसबाट गर्भ रहन गयो । यस गर्भलाई उनले जमीन मुनी गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीतालाई फेला पारेका हुन् ।

जन्म नदिए पनि पालनपोषण गर्ने राजा जनक सीताको पिता र सुनैना माता हुन् । उनमा सानै देखि विलक्षण प्रतिभा थियो । शुरवीरले उचाल्न नसक्ने शिवधनु पुजाकोठाको सरसफाई गर्दा सजिलै वरपर राख्ने गर्थिन् । उनको यो शक्ति देखेर जनकले शिवधनुको ताँदो उचाल्न सक्नेलाई छोरी दिने वाचा गरे अनुसार अयोध्याका राजा दशरथको छोरा रामले जनकको प्रतिज्ञा पुरा गरेकाले सँग धुमधामसँग विवाह भयो ।

एकदिन सीता बगैंचामा बसीरहेको बेलामा एक जोडी सुगाले सीताको विवाह अयोध्याका राजा पुत्र रामसँग विवाह हुने कुरा गरीरहेका थिए । सीताले उनीहरुको कुरा सुनिन् र आफ्ना साथीहरुलाई ती पंक्षीलाई समातेर ल्याँउन भनिन् । सुगाको गर्भवति पोथीलाई मात्र समातेर ल्याए भाले उडेर गयो । सीताले पोथी सुवालाई विभिन्न प्रश्न गर्न थालिन र भाले सुगा आएर गर्भवति पोथीलाई छाडीदिन भन्यो तर सीताले छाडीदिनन् र पोथी सुगाको मृत्यु भयो । पोथीको मृत्यु भएपश्चात उक्त भाले सुगाले सीतालाई गर्भवस्थामा पति बिछोडको श्राप दियो । यही सुगाले दिएको श्रापको कारण सीता गर्भवती हुँदा रामले वनवास पठाएको विश्वास गरीन्छ । उनले वनवासको क्रममा नै छोराहरु लव र कुशलाई जन्माएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्