Logo

ट्रमा सेन्टरमा शल्यक्रिया जारी



काठमाडौँ, २ वैशाख । सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवालाई निरन्तरता दिइरहेका छन् । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गएको अवस्थामा उपचारका लागि तयारीसहित अत्यावश्यक स्वास्थ्य सेवालाई अस्पतालले जारी राखेका हुन् । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. सन्तोष पौडेलका अनुसार ट्रमा सेन्टरमा अहिले पनि दैनिक एक दर्जन अत्यावश्यक शल्यक्रिया हुँदै आएका छन् ।

दुई चार महिनापछि शल्यक्रिया गर्दा पनि हुने जोर्नी, नशा च्यापिएका, ट्युमरलगायत बाहेक ‘इमर्जेन्सी’ सेवासमेत चालू छ । बहिरङ्ग सेवा चाहिँ बन्द रहेको छ । उनका अनुसार छत, रुख, भीरबाट खसेर घाइते भएकाहरू इमर्जेन्सीमा दैनिकजसो आउने गरेका छन् । विगतको तुलनामा ८० प्रतिशत बिरामी इमर्जेन्सीमा आउने गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा वार्ड, आईसीयू, पोस्ट अपरेटिभ वार्ड, इमर्जेन्सी गरी दुई सय बेड छन् । अस्पतालमा अहिले पनि ९१ बिरामी उपचारका क्रममा रहेका छन् । अस्पतालमा ३० वटा इमर्जेन्सी छ । नौवटा पोस्ट अपरेटिभ वार्ड रहेको छ । अहिले पनि दैनिक ३० वटा बेडमा इमर्जेन्सीका बिरामी आउने गरेको डा. पौडेलले जानकारी दिएका छन् । दैनिक चार सयले सेवा लिँदै आएको बहिरङ्ग सेवा अहिले बन्द अवस्थामा छ । ११ वटा आईसीयू कक्ष रहेका छन् । आवश्यक परेमा ‘हाई डिपेन्डेन्सी’ आठवटा वार्डलाई आईसीयूमा बदल्न सकिने डा. पौडेलले जानकारी दिएका छन् ।

कोरोना उपचारको तयारी
कोरोना भाइरस सङ्क्रमणको महामारी अवस्था आएमा ट्रमा सेन्टरलाई पनि कोरोना उपचारका गर्ने ‘डेडिकेटेड’ अस्पतालमा रूपान्तरण गर्ने योजना सरकारको छ । सो अनुसार अस्पतालले तयारी योजना बनाएको छ । अस्पतालले ‘स्क्रिनिङ’ सेवा सुरु गरिसकेको छ । अस्पतालमा आएकाको ‘ट्राभल हिस्ट्री’ लिने, ज्वरो नाप्ने, कोरोनासम्बन्धी फर्म भराउने कार्य थालिएको छ । सेन्टरका प्रमुख डा. पौडेलका अनुसार अस्पतालको इमर्जेन्सीमा छ बेडको आइसोलेसनसमेत तयार पारिएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्