Logo

पर्यटकविहीन नयाँ वर्ष



काठमाडौँ, २ वैशाख । कन्यामका होटल व्यवसायी टेकराज गिरीलाई नयाँ वर्षमा फुर्सद मिलेको छ । उनलाई पर्यटक आउलान् र मीठो आतिथ्यसहित स्वागत गरौँ भन्ने छैन । पर्यटक नआएको एक महिना कटेपछि उहाँ कन्याममा पहिलो पटक पर्यटकविहीन नयाँ वर्ष मनाउँदै छन् ।

नयाँ वर्षमा पर्यटकले खचाखच हुने कन्याम सुनसान छ । स्वदेश तथा विदेशका पर्यटकले रुचाएको इलामको कन्याम नयाँ वर्षमा पूरै सुनसान भएको यो पहिलो पटक हो । पर्यटकले खचाखच हुने कन्याम पर्यटकविहीन बन्दा त्यत्तिकै शान्त पनि छ । चियाको हरियालीले डाँडाकाडा ढपक्कै ढाकेको छ । बिहानै टाप बजार्दै पर्यटकलाई मनोरञ्जन दिन आउने घोडा पनि तबेलामै थन्किएका छन् । घुम्ती पसल बन्द छन् । टेक्ने ठाउँ नहुने कन्याम यतिबेला खाली छ । कोरोना विषाणु (कोभिड–१९)को सङ्क्रमणबाट रोक्न गरिएको बन्दाबन्दीका कारण प्रदेश १ कै पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका सबै पर्यटकीय स्थल सुनसान छन् । महिना दिनदेखि यी क्षेत्र सुनसान बन्दा यहाँका होटल तथा पर्यटन व्यवसायी पलायन हुने अवस्थामा पुगिसकेका छन् ।

नेपालका विभिन्न स्थान, भारतीय, बङ्गाली र तेस्रो देशका पर्यटक आउने सूर्योदय नगरपालिकाको कन्याम, श्रीअन्तु, पशुपतिनगर, फिक्कलका साथै सन्दकपुर गाउँपालिकाको सन्दकपुर, माई पोखरी, ढाप पोखरी, देउमाई नगरपालिकाको पानीटार कुइभीर, माई जोगमाई गाउँपालिकाको थुम्के टङ्लु जस्ता क्षेत्र लामो समय सुनसान भएको पर्यटन व्यवसायी बताउँछन् । भारतीय बाटो भएर आउने पर्यटकको सङ्ख्या शून्य छ । वनभोज र भ्रमणमा आएका पर्यटकले भरभराउ हुने कन्याम सुनसान भएपछि व्यवसायी लामो समयदेखि घरघरमै थन्किएका छन् ।

कन्याममा एक सय व्यावसायिक ठेला सञ्चालन गर्दै आएका व्यवसायी एक महिनादेखि घरमै छन् । पर्यटक आउन छोडेर व्यवसाय बन्द भएपछि ठेला र घोडा व्यवसायी नगरपालिकालाई बुझाउनुपर्ने करसमेत बुझाउन नसक्ने अवस्थामा पुगेका छन् । नयाँ वर्षको समयमा होटल साताअघि नै बुक भइसकेका हुन्थे, यस पटक सबै होटल बन्द गरेर कोरोनाविरुद्ध जुटेका छौँ, होटल व्यवसायी टेकराज गिरीले बताए ।
झुल्के घाम हेर्न र सूर्योदयको दृश्यावलोकनका लागि दैनिक हजारौँ पर्यटक पुग्ने अन्तुडाँडा पूरै सुनसान भएको महिना दिन भइसक्यो । स्थानीय घरबास व्यवसायी रुद्र घिमिरेका अनुसार त्यहाँका घरबास कोरोनाको आनिश्चित कालका लागि बन्द छन् ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर बजार पनि ठप्प छ । भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङ लगायत पश्चिम बङ्गालबाट आएका पर्यटकले खचाखच हुने पशुपतिनगर बजारमा मानिस देख्नै गाह्रो पर्छ । तेस्रो देशका पर्यटकको ओइरो लाग्ने प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरसमेत सुनसान भएको छ । गुराँस फुलेर ढकमक्क सन्दकपुर पनि पर्यटकविहीन नै छ । विदेशी पर्यटकले भरिभराउ हुने ३६३६ मिटरको उचाइमा रहेको सन्दकपुर डाँडा पर्यटकविहीन अवस्थामा आफैँ मात्र रमाइरहेको छ । दर्जनौँ हिमालको दृश्य देखिने सन्दकपुर डाँडाका होटल व्यवसायीले प्रायः भारतकै भरमा होटल सञ्चालन गर्दै आएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्