Logo

प्रधानमन्त्रीको इन्जिनहरुमा खराबी छ- डा. चन्द्र भण्डारी, काँग्रेस केन्द्रीय सदस्य



काठमाडौं, २ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी कोरोना भाइरविरुद्ध लड्न सबै एकजुट हुनुको विकल्प नभएको बताउँछन् । तर, सरकारका धेरै कमी कमजोरी औल्याउँदै शल्यक्रियामा जोड दिन्छन् । डा. भण्डारीसँग यीनै विषयमा ऋषि धमलाले गरेको कुराकानीः

कोरोनाविरुद्ध सरकारले चालेको कदमप्रति कांग्रेसको के प्रतिक्रिया छ ?
सरकारले चालेको कदमप्रति कांग्रेसको प्रतिक्रिया भन्दा पनि यो मानव जातिको समस्या हो । कोरोनाले कुनै ठूलो, सानो देश, गरीव धनी, कांग्रेस, कम्युनिस्ट भन्दैन । त्यसकारण प्रक्रियाभन्दा पनि सरकारले छिटो, छरितो ढंगले काम गरोस्, आइपरेका विभिन्न सामानहरुलगायत स्वास्थ्य सामाग्रीहरु खरिद गर्दा अनियमितता नगरोस् । अथवा जनतालाई राहत सामाग्री दिँदा तेरो, मेरो भनेर असमान व्यवहार नगरोस् । त्यसैगरी डाक्टरहरुलाई आवश्यक सामाग्रीहरु छिटोभन्दा छिटो उपलब्ध गराओस् ।
स्वास्थ्य मन्त्रीले त अब सरकारीले मात्रै होइन निजी क्षेत्रका अस्पतालहरुले यो रोग सेवा गर्नुपर्छ भन्नुभयो नि ?
पहिलो कुरा त जसरी हामीहरु विभिन्न काममा संसारभरि घुमिरहेका छौं । त्योसँगै कोरोना पनि प्लेन चढेर संसारभर घुमिरहेको छ भन्ने कुरा हामीले बुझेनौं । दोस्रो कुरा हिजो चाइनामा मात्रै यो रोग फैलिएको बेला चाइनालाई हामीले छिमेकीको नाताले प्रशस्त मात्रामा माक्स र स्यानिटाइजर उपलब्ध गराएको भए अहिले हामीलाई जति पनि स्वास्थ्य सामाग्रीहरु उपलब्ध हुन्थ्यो । मैंले भन्नखोजेको के हो भने हामीसँग पर्याप्त समय हुँदा पनि त्यसको सदुपयोग गरेर पूर्व तयारी गर्न सकेनौं । यहाँ कसले के भन्छ भन्ने होइन, अहिले के भइरहेको छ भन्ने मुख्य कुरा हो ।
प्रयास ढिलै भएपनि भारत र चीनबाट स्वास्थ्य सामाग्री आउने भएको छ, खरिद प्रक्रियामा भ्रष्टाचार भएको हो त ?
तपाईंले आफ्नो सञ्चारमाध्यमबाट यति धेरै सुसूचित गराउन भएको छ कि धेरै मान्छेले त यसबाट पनि आफ्नो मनस्थिति बनाएका छन् । अहिले प्रधानमन्त्रीको कुरा गर्न चाहन्छु । एउटा बिरामी प्रधानमन्त्री विरामी नभएको नेताभन्दा सक्रिय हुनुहुन्छ । त्यो अत्यन्त लोभलाग्दो स्थिति छ । तर, उहाँका इन्जिनहरुमा मैले खराबी देखेको छु, नत्र भने यति धेरै बदमासी किन हुन्छ ? त्यो इन्जिनलाई अप्रेसन गरेर फालिदिनुपर्यो । अहिले मानवतामाथि प्रश्नचिन्ह उठिरहेको बेलामा बदमासी जसले गर्छ । मैले तपाईंको मिडियामार्फत भनेको छु, ‘यहाँ नाकाबन्दी हुँदा खाइदिन्छ, देश डुब्दाखेरी खाइदिन्छ, भूकम्प जाँदा खाइदिन्छ भने अब फेरि यो कोरोनाको निहुँमा खाने माफियाहरु सलबलाएका छन् । नेता राम्रो छ भने परिवार ठिक छैन, परिवार ठीक छन् भने त्यसका साथीसंगत ठीक छैनन्, नेपालको यो रोग हो । यस्तो बेलामा बदमासी गर्नेलाई राष्ट्रद्रोहको मुद्दा लगाउनपर्छ भनेर मैले तपाईंको सञ्चारमाध्यमबाट पहिला नै भनेको छु । त्यसकारण यसमा प्रधानमन्त्री, उहाँका वरिपरिका साथीहरु होसियार हुनुप¥यो । प्रधानमन्त्री राम्रो भएन वरिपरिका साथीहरु राम्रो हुने हो । जसको कारणले सरकारप्रति जनताको विश्वास होस् । त्यो भयो भने जनतामा मनोबल बढ्छ । यहाँ सरकार भनेपछि यो या त्यो निहुँमा खान हो भन्ने भयो भने किन जनताले सहयोग गर्छन् । त्यसैले जनतामा मनोबल घट्यो भने समस्या अर्को सिर्जना हुनसक्छ ऋषिजी ।
अख्तियारले पनि छानविन गर्दैछ भनिन्छ स्वास्थ्य सामाग्री खरिद प्रकरणमा भ्रष्टाचार भएकै हो त ?
के भएको छ त्यसमा खख्तियारमा उजुरी परिसकेपछि उसले छानविन गर्ला । तर सरकारमा बसेका मान्छे जसले यति महत्वपूर्ण अवसर पाएका छन् । यो अवसर पाउनका लागि जीवनभर कति ठूलो खुःख गरिरहेका छन् । यस्तो अवस्थामा अन्य क्षेत्रको मान्छेले त सकेसम्म काम गर्नुपर्छ भने, सरकारबाट नाम, पद, साधन, स्रोत, सुविधा लिएर बदमासी गर्नुभनेको त्योभन्दा दूर्भाग्यपूर्ण केही होइन । यस्तोबेलामा मानवता विरोधी काम गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
यसमा बदमासी कसले गरेको छ तपाईंको धारणा के ?
यसमा कसले गरेको के गरेको छ ? त्यसको अनुसन्धान गर्ने व्यक्ति म होइन । त्यसको अधिकार पाएका व्यक्तिले आफ्नो अर्को, फाइदा, घाटा होयन नियमपूर्वक राष्ट्र र जनता हेरेर निष्पक्ष छानविन गर्नुपर्छ । कसैले गरेको छैन भने उसलाई अनावश्यक आरोप पनि लगाउनुहुँदैन । जसले गरेको छ, ऊ उम्किन पाउँदैन । मेरो भनाइ यत्ति हो ।
त्यसोभए प्रधानमन्त्रीलाई तपाईंको सुझाव के ? सरकार कसरी अगाडि बढ्नुपर्ला ?
प्रधानमन्त्रीका सल्लाहकारलाई मैले पहिला नै भनेको छु, ‘दुई नम्बर र सात नम्बर प्रदेशलाई ‘क’ नम्बरमा राखौं’ भनेर । सातमा धेरै बाहिरबाट आउँछन् र दुईमा खुल्ला सीमानाको समस्या हुन्छ त्यसैले प्रभावितको ‘क’ श्रेणीमा राखौं भनेको हुँ । शहरबजारलाई सामाजिक डिस्ट्यान्सदेखि अन्य तरिकाले हेरौं । अर्को पहाडी एरियाहरुलाई अर्कोतरिकाले हेरौं यसरी तीन तरिबाट यसलाई हेरौं भनेको थिएँ । त्यसमा आवश्यक स्वास्थ्य सामाग्रीहरु छिटोभन्दा छिटो ल्याऊँ । अर्को कुरा यो संक्रमणले ठूलो भोकमरी मुलुकमा हुन सक्छ । त्यसको लागि पहाडी र गाउँ इलाकामा खेतीको काम गर्न सक्छ । त्यसको लागि डिस्टेन्स पालना गरेर काम गर्ने । सामाजिक दुरी कामय गरियो भने एक अर्कामा फैलिने कुराबाट जोगिन सक्नेरहेछौं । त्यसको लागि सामाजिक दुरी कायम गरेर खेती गर्ने किसानहरुलाई विभिन्न प्याकेजका कार्यक्रमहरु ल्याउँ । त्यसैगरी करेसाबारी र खेतीको कुरालाई अगाडि बढाउने । अर्को कुरा किसानहरुले पशु, चौपायहरु पालेका छन् एकातिर भोकमरी लाग्यो भने त ती पशु चौपाए पनि खत हुन्छन् । किनहरुका घरमा आफ्ना लागि पालेका कुखुरा, बाख्रा, गाई, भैंसी पालिएका हुन्छन् । त्यसलाई उत्साहित प्रोत्साहन गर्नका लागि विभिन्न प्याकेज कार्यक्रमको आयोजना गर्नुपर्छ । मुलुक भोकमरीबाट जोगाउने उपाय अब शहरबाट होइन गाउँबाट खोज्नुपर्छ । यो बेलामा खटेका डाक्टरहरु र सुरक्षाकर्मीहरुको बिमा गर्नुपर्छ । भारतका प्रधानमन्त्रीदेखि राष्ट्रपतिलगायत सरकारमा बस्नेहरु दुई वर्षसम्म्को तलबाट ३० प्रतिशत घटाउन मिल्छ भने हामीले किन नगर्ने ? अरु राष्ट्रले संसद् कोषलाई कोरोनामा राख्न मिल्छ भने हामीले किन नराख्ने । त्यसकारण थालनी नेताहरुबाट सुरु हुनुपर्छ । अहिले निर्देशन होइन उदाहरणीय हुने काम गरेर देखाउनुपर्छ । यसो गरिएको छ र उसो गरिएको छ भनेर निर्देशन होइन काम चाहियो । यो बेलामा बिरामी प्रधानमन्त्रीले काम गर्ने अवसर पाउनुभएको छ । त्यस्तो बेलामा आफ्ना वरिपरि राम्रा मान्छे राखेर काम गर्नुपर्छ । भ्रष्ट, अवसरवादीबाट टाढा हुनुपर्छ । गाडीमा होइन इन्जिनमा मात्रै खिया लागेको हो भने त्यसलाई फालेर अगाडि जानुपर्छ भन्ने लाग्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्