Logo

कृषि क्षेत्रका लागि राहत सबै प्रदेशलाई प्रस्ताव पेस गर्न आग्रह



काठमाडौँ ६ वैशाख । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले किसानलाई दिइने राहत प्याकेजका प्रस्ताव मन्त्रालयमा पठाउन सातवटै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीलाई आग्रह गरेका छन् ।

सङ्घीय कृषि मन्त्रालयले प्रदेशका कृषि मन्त्रालयमार्फत राहत वितरण गर्ने तयारी गरिरहेको हुनाले त्यो राहत कसरी वितरण गर्ने, कति मात्रामा कुन मापदण्ड अनुसार वितरण गर्ने त्यसको प्रस्ताव पठाउन सातवटै प्रदेशका मन्त्रीलाई उनले आग्रह गरेको हो । मन्त्री भुसालले शुक्रवार प्रदेशका कृषि मन्त्रीसँग भिडियो कन्फरेन्समार्फत कुरा गरेका छन् । प्रदेशमा भएका कृषि तथा पशुजन्य क्षतिको आँकलन र राहतको प्रस्ताव शनिवारसम्म सङ्घीय सरकारको कृषि मन्त्रालयमा उपलब्ध गराउन मन्त्री भुसालले निर्देशन गरेको निजी सचविालयले जनाएको छ । सो राहत प्रस्तावको निश्चित प्रतिशत सङ्घीय कृषि मन्त्रालयले बहन गर्ने गरि राहत प्याकेज घोषणा गर्ने तयारी मन्त्रालयको रहेको छ । प्रदेश सरकारले आफ्नो आवश्यकता अनुसार सो प्याकेजमा थप गरि किसानलाई राहत प्रदान गरिने कृषि मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले कोरोना भाइरसको कारण गरिएको बन्दाबन्दीले गर्दा मर्कामा परेका किसानलाई राहत दिने भनि मन्त्रीपरिषद्मा प्रस्ताव गरिएको छ । तर हालसम्म सो प्रस्ताव विचाराधीन अवस्थामै छ । कृषि मन्त्रालयले करिब ७० करोड रुपियाँ बराबरको राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषद्मा प्रस्तुत गरेको छ । शनिवार बस्ने मन्त्री परिषद्को बैठकबाट किसानलाई दिइने राहतको बारेमा निर्णय हुने सम्भावना रहेको आफूलाई मन्त्री भुसालले जानकारी गराउनु भएको प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले बताएका छन् । आफूले प्रदेश २ मा राहतका कार्यक्रम अगाडि बढाई सकेको र सङ्घीय सरकारबाट आउने निर्देशन अनुसार त्यसमा थप्ने उनले बताएका छन् । मन्त्री भुसालले सबै प्रदेशबाट एक दुई दिनभित्र राहतको विषयमा आआफ्नो प्रस्ताव प्रस्तुत गरेका छन् । उनले आफूहरू तथ्यांक सङ्कलन गरिरहेको र एक दुई दिनमा त्यो सङ्घीय सरकारमा पठाउने बताएका छन् । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्