Logo

फागुन र चैतको विद्युत महसुल वैशाख भित्र तिरे जरिवाना नलाग्ने, लकडाउन थपिए थप व्यवस्था हुने



काठमाडौँ ६ वैशाख : नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल यही वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार जरिवाना छुट दिने निर्णय भएको बताएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले लकडाउन अवधि लम्बिएमा सोहीअनुसार समयावधि थप हुने समेत प्रष्ट पारे ।

विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण अर्थतन्त्रमासमेत गम्भीर असर परेको वर्तमान परिप्रेक्ष्यमा मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत महशुल तथा विलम्ब वापत लाग्ने जरिवाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण संचालक समितिको २५ चैतको ८३० औं बैठकले जरिवाना छुट दिने निर्णय गरेको थियो ।

‘लकडाउनको विषम परिस्थितिका कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सकिरहेका छैनौं, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठ वटा अनलाईन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सक्नुहुन्छ, लकडाउन खुल्ला भएर अवस्था सामान्य बनेपछि मिटर रिडिङ गरी ग्राहकले अहिले तिर्नु भएको रकममा समायोजन गरिने छ,’ प्रधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।

‘लकडाउनको विषम परिस्थितिमा ग्राहकवर्गलाई नियमित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन हाम्रो टिम अहोरात्र खटिरहेको छ, दैनिक संचालन खर्च, खरिद गरिएको विद्युत्को भुक्तानी लगायतलाई रकम आवश्यक पर्छ, महसुल समयमा संकलन नहुँदा हाम्रो न्यूनतम सेवा प्रवाहका लागि खर्च नै नपुग्ने गरी नगद प्रवाह जोखिम आउन सक्ने भएकाले यस्तो सम्भावित अवस्था आउन नदिन अनलाइनमार्फत महसुल भुक्तानीका लागि अनुरोध गर्दछु, ‘ उनले भने ।

प्राधिकरणले चैत र वैशाखको महशुल आगामी ६ जेठभित्रमा भुक्तानी गरेमा २ प्रतिशत छुट पाउने थप व्यवस्था गरेको छ । यसअघि यस्तो छुट सुविधा विलिङ भएको एक हप्ताभित्रमा महसुल तिरेमा मात्रै पाउने व्यवस्था थियो ।

प्राधिकरणले वर्तमान अवस्थामा ग्राहकको घरघरमा गई मिटर रिडिङ गर्न सक्ने अवस्था नरहेकोले सिंगल फेज ग्राहकहरुको चैत्र र वैशाखको विल फागुनको विलअनुसार नै गर्नेछ भने थ्रि फेज मिटर जडान भएको ग्राहकको हकमा सम्भव भएसम्म मिटर रिडिङ गरेर वास्तविक विल गर्नेछ । सिंगल फेज ग्राहकहरुको यी महिनाहरुको विल पछि वास्तविक रिडिङ गर्दा फरक पर्न गएमा सोहीअनुसार विलमा मिलान गरिने प्राधिकरणले जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा प्राधिकरणले ग्राहस्थ (सामुदायिक समेत) वर्गका १५० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको हकमा गत चैत्र र यही बैशाखको विलको इनर्जी शुल्क (न्युनतम शुल्क बाहेक) मा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । चैत्र महिनाको यस्तो छुट रकम विल नतिरेको ग्राहकको हकमा विलमा नै मिलाउने छ भने विल तिरिसकेका ग्राहकको हकमा वैशाखको विलमा मिलान गरिने विद्युत प्राधिकरणले जनाएको छ ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्