शम्भुु श्रेष्ठ: माघ १९ गते राजा ज्ञानेन्द्रले ‘कु’ गरेर शासनसत्ता आफ्नो हातमा लिएपछि शाही ‘कु’को पहिलो निशानामा नेपाली मिडिया परे । साना–ठूला हरेक मिडिया हाउस सेनाले घेरा हाल्यो । कुन अंकमा के सामग्री प्रकाशित हुँदैछ भन्ने कुराको सेनाका जवानले ‘सेन्सर’ गर्न थाले । तैपनि, नेपाली मिडियाले घुमाइफिराई शाही ‘कु’को विरोधमा समाचार लेख्न छाडेनन् । त्यहीक्रममा दृष्टि साप्ताहिकको पहिलो पृष्ठको एक कलममा सद्दाम हुसेनको फोटोसहितको समाचार छापियो । अर्को एक कलममा राजा ज्ञानेन्द्रको फोटोसहित नयाँ वर्षको शुभकामना छापियो सायद ।
दृष्टिमा छापिएको यी दुई समाचार (सामग्री)ले दरबारमा हल्लीखल्ली मच्चियो । राजा ज्ञानेन्द्रको हातमै दृष्टि पुगेपछि बेलुकी राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनको फोन आयो । पहिलो कल मैले उठाइनँ । दोस्रो कल आयो, उठाएँ । उनले सोधे, ‘आजको दृष्टिमा एकातिर सद्दाम हुसेनको फोटो, अर्कोतिर राजाको फोटो छापिएको रहेछ । त्यसको अर्थ बुझ्न सकिएन नि ।’ मैले कुरा घुमाउँदै भने, ‘त्यो सद्दामको प्रशंग बेग्लै हो । तर, पनि अहिले विश्वभर सद्दामको चर्चा भएकाले छापियो । त्यसमा अन्यथा लिनुपर्ने कारण छैन ।’
त्यसको केही समय पछाडि एउटा पार्टीमा पशुपतिभक्तसँग मेरो जम्काभेट भयो । मैले भने, ‘तपाइँहरुले राजालाई गलत सल्लाह दिएर वर्बाद गर्नुभयो ।’ मेरो कुुरा सुनेर उनी एकक्षण अकमक भए । त्यसपछि भने, ‘हामी त सेवक हौँ । केको सल्लाह दिनु नि ?’ पशुपतिभक्तले भनेझैँ प्रधानमन्त्रीका सल्लाहकारहरु, सल्लाहकार होइनन् बालुवाटारमा सेवक हुन् भन्ने कुरा प्रधानमन्त्रीले एक अनलाइनलाई दिएको अन्र्तवार्ताले पुष्टि गर्छ ।
अर्को प्रशंग छ, पण्डित नेहरु । भारत स्वतन्त्र भइसकेपछि पहिलो प्रधानममन्त्रीका रुपमा नेहरु नियुक्त भए । राजकाज चलाउन उनले सबैभन्दा पहिला क–कसलाई सल्लाहकार बनाउने भनेर उनका सहयोगीसँग नाम लिस्ट मागे । उनका सहयोगीले १०÷१५ जनाको नाम सल्लाहकारमा सिफारिस गर्न नेहरुलाई दिए । नेहरुले त्यो लिस्ट हेरिसकेपछि कतिलाई मन्त्री, कतिलाई राजदूत बनाउने टुंगोमा पुगे । त्यसपछि उनका सहयोगीहरु आश्चार्य चकित हुँदै सोधे, ‘हामीले दिएका नाम त सबै राजदूत र मन्त्री बने । त्यसमध्ये एक जना पनि सल्लाहकार नियुक्ति भएनन् नि ? भने ।
पण्डित नेहरुले जवाफ दिए, ‘राजदूत र मन्त्री भनेका ‘एस म्यान’ हुन् । ‘एस म्यान’ले सल्लाहकारको भूमिका निर्वाह गर्न सक्दैन । राजकाज चलाउनुमा तिनीहरुको भन्दा तिक्ष्ण बुद्धि भएको, सबैलाई समेटेर जान सक्ने, मैले केही गल्ती गरे भने पनि औँला ठड्याउन सक्ने र ठीक समयमा सुझाव, सल्लाह दिन सक्ने मानिस हुनुपर्छ’ भने । भर्खरै भारत स्वतन्त्र भएकाले चुनौतीहरु धेरै छन् । ति सबै चुनौतीलाई पार लगाउन सक्ने खालको मान्छेमात्र सल्लाहकार योग्य हुन्छन् भन्ने मान्यता नेहरुको थियो ।
मैले यो प्रशंग किन उठाएको हुँ भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले हालैमात्र एउटा अनलाइन अन्र्तवार्तामा प्रधानमन्त्रीको सचिवालयबारे सार्वजनिक रुपमा भइरहेको टिका टिप्पणी र आलोचनाको प्रतिवाद गर्दै आफ्नो सचिवालय निकै सक्षम भएको बताएका छन् । प्रधानमन्त्री ओलीले उक्त अन्र्तवार्तामा ‘विभिन्न पत्रपत्रिका र सञ्चारमाध्यममा गलत राजनीति उद्देश्य बोकेकाहरुको सुलसुलेको रुपमा काम गरिदिनु पथ्र्यो । र, कुनैपनि निर्णय संवाददाताको रुपमा सम्प्रेषण गरेर उनीहरुलाई मद्दत पु¥याई दिनुपर्दथ्यो । र, देशविरुद्धको एउटा चक्रव्यूहको गोटी बनि दिन पथ्र्यो भन्ने आग्रह हुन सक्थ्यो । त्यो भएन अनि रिसाए’ भनेका छन् ।
यो नेपाली मिडियामाथिको गम्भीर आरोप हो । प्रधानमन्त्री ओलीले बुझेझैँ नेपाली मिडिया कुनै चक्रव्यूहमा फसेको छैन । मिडियाको काम त सरकारलाई सकरात्मक आलोचनाको माध्यमबाट सुझाव दिने मात्र हो । त्यसमाथि प्रधानमन्त्रीलाई सचिवालयले घेराबन्दी गरेर राखेको कुरा कुनै मिडियाको मनगन्ते कुरा होइनन् । सरकारका मन्त्रीहरुको तितो अनुभव हो । आफ्नै सरकारको मन्त्रीहरुले भेट्न चाहेको बेला भेट्न नसक्ने, सचिवालयमा खबर गर्दा ‘रेस्पोन्स’ नगर्ने परिपाटी दोस्रोपटक प्रधानमन्त्री भइसकेपछि बालुवाटारमा स्थापित रवैया हो । त्यति मात्र होइन, प्रदेश प्रमुख र मुख्मन्त्रीहरु पनि बालुवाटारको यो अनुभवबाट अघाइसकेका छन् । पार्टी नेता र कार्यकर्ताको त कुरै छाडौँ । यसबाट बुझ्न सकिन्छ, प्रधानमन्त्री कार्यालयको सचिवालय कतिसम्म निकम्मा छ भन्ने कुरा ।
यही कुरालाई महशुस गेरर एक पटक प्रधानमन्त्री ओलीले सबै सचिवालय सदस्यहरुको राजीनामा मागे । फेरि तिनै अनुहारलाई नाटकीय ढंगबाट नियुक्ति गरे । यसबाट के बुझ्न सकन्छि भने प्रधानमन्त्री ओलीको कमिकमजोरीबाट प्रधानमन्त्रीका सल्लाहकारहरुले फाइदा उठाइरहेका छन् । जुनदिन तिनीहरु त्यहाँबाट बाहिरिन्छन्, त्यो दिन प्रधानमन्त्री स्वयंमको भण्डारफोर गर्ला भन्ने डर प्रधानमन्त्रीलाई छ । त्यसैले बेला न कुबेला प्रधानमन्त्रीको अन्र्तवार्ता आएका हुनुपर्छ । नभए यो संकटको बेला प्रधानमन्त्री स्वयंम् सल्लाहकारसामु त्यति निरीह बन्ने थिएनन् ।