काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन लम्बिने संकेत गरेका छन् । उनले कोरोना रोकथामका लागि सरकारले कडाईका साथ कदम चाल्ने भन्दै लकडाउन लम्बिने संकेत गरेका हुन् ।
शनिबार सरकारी मिडियाका सम्पादकहरुलाई ६ वेशाखमा संयुक्त अन्तवार्ता दिदै लकडाउन थपिने संकेत गरेका हुन् । उनले पटक पटक भारतको उदाहरण दिएका थिए । भारतमा कोरोना भाइरसको अवस्थामा सुधार नआएसम्म नेपालमा नआउने सम्मको विषय राखेका थिए ।
१५ वैशाखसम्म लकडाउनको दोस्रो चरण भएपनि सरकारले यो महिनाभर लकडाउन गर्ने तयारी गरेको छ । विशेषगरी मस्जिदहरुमा धर्मगुरुहरुमा कोरोना संक्रमित देखिएपछि सरकारले अझ कडाई गर्ने तयारी गरेको हो ।
उनले भारतसँग आफुनो कुरा भएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि राम्रो समझदारी भएको बताए । भारतको स्थिति नसुधारिएसम्म यताकालाई उता र उताकालाई यता पठाउन नसकिने बताए । उनले भने, उडान र सीमा सबै बन्द हुन्छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रेस संगठनका पदाधिकारीहरुसँगको कुराकानी उल्लेख गर्दै सीमा बन्द र देशभित्र आवतजावत नियन्त्रण जरुरी रहेको बताएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले अहिले कोरोना रोकथाममा केन्द्रित भएकाले सरकारले घाटा र नाफामा नअलमलिने बताएका थिए । सम्पादकहरुले मुलुकको अर्थतन्त्रको बारेमा सोध्दा प्रधानमन्त्रीको भनाई उदृत गर्दै जनआस्थाले लेखेको छ, ‘अहिले अर्थतन्त्रको कुरा हुँदैन, सरकारको ध्यान कोरोना फैलन नदिनेमा केन्द्रित हुने हो ।’
सीमापारी नेपालीहरु स्वदेश आउन खोज्दा रोकिएकोबारे प्रधानमन्त्रीले आक्रोश व्यक्त गरे । सीमापारीकै क्वारेन्टाइनमा राख्दा दशगजामा आएर लम्पसार हुने र बेइज्जत गर्ने गरको टिप्पणी गरे । २१ सय ४६ नेपालीलाई क्वारेन्टाइनमा राखेको तथ्यांक समेत उल्लेख गरे ।
४ बजे डाकिएका पत्रकारहरुलाई प्रधानमन्त्रीले ४ बजेर ५५ मिनेटमा समय दिएको र १४ प्रश्नको उत्तर २ घन्टा लगाएर दिएको बुझिएको छ ।-File Photo