काठमाडौं, ८ वैशाख । नेपाली राजनीतिमा कालो बादल मडारिएको छ । देश कोरोना भाइरससँग जुधिरहँदा सत्तारुढ दलभित्र नयाँ राजनीतिक चलखेल भएको छ ।
पार्टी फुटाउन सहज हुने गरी मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाका पूर्व माओवादी खेमाका मन्त्रीहरु खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । त्यहाँ उनीहरुको छुट्टै बैठक बसेको छ ।
पछिल्लो समय प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच दुरी बढेको देखिएको थियो । प्रचण्डले सर्वदलीय राजनीतिक संयन्त्र बनाएर कोरोनाविरुद्ध लड्ने प्रस्ताव गर्दा आलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए ।
नेकपाभित्र विवाद चुलिइरहँदा प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटि वा संसदीय दल जुनसुकैमा ४० प्रतिशत सदस्य पुगेमा पार्टी विभाजन गर्न सकिने गरी अध्यादेश ल्याउने सरकारले निर्णय गरेपछि नयाँ विवाद सृजना भएको छ । विगतमा संसदीय दल र केन्द्रीय कमिटि दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने प्रावधान थियो । अहिले नयाँ अध्यदेश अकस्मात ल्याएपछि नेकपाभित्रको विवाद निकै चुलिएको खुलेको छ ।
नेकपाभित्र प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल एकातर्फ छन् भने अर्का अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्यहरु रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ अर्कातर्फ छन् । वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि ओलीको विपक्षमा उभिएका छन् ।-File Photo