Logo

दोलखालीहरु यसरी लागे आफ्नो घरतिर (फोटोफिचर)



काठमाडौं, ८ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको आज २८ औं दिन हो । लकडाउन यही बैशाख १५ गतेसम्म कायम गरिएको छ । लकडाउन सुरु भएकै दिनदेखि रिपोर्टर्स नेपाल डटकमले लकडाउन डायरी प्रस्तुत गर्दै आएको छ । आजको डायरीमा आज खाली सुनसान सडकभन्दा भिन्दै खालका तस्विरहरु कोरोना अपडेटमा समावेश गरिएका छन् । लकडाउनका कारण घर जान नपाएका दोलखाली जनताहरुलाई त्यहाँको गाउँपालिकाले घर आउन चाहनेहरुका लागि ८ वटा बसको व्यवस्था गरेअनुसार कौशलटार चौकको दृश्य अरुदिनभन्दा फरक देखिन्थ्यो ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोेटेका अनुसार काठमाडौंमा यत्रतत्र छरिएर बसेका दोलखाली जनताहरु आफू बसेको ठाउँबाट पैदल हिँडेर त कोही सुविधाका गाडि, कोही एच लेखिएको गाडि त कोही मोटरसाईकल, पासवाला ट्याक्सीमा जम्मा भएका देख्दा दशै–तिहारमा हिँडे झै लाग्थ्यो । लकडाउनले कोठामा निशास्सिएर बसेका दोलखालीहरु मानौं बुहारीलाई माईत जान पाउँदा १२ वर्षको पोथ्रो नाँघ्छन् भन्ने उखानसँग ठीक मिल्थ्यो ।

गाडी चढ्ने ठाउँमा खानाको व्यवस्था गरिएको थियो, सबैलाई साबुन पानीले हात धोएर आउन उर्दी गरेसँगै केटा–केटीहरु रमाउँदै हात धोई पखाली गर्नमा व्यस्त देखिन्थे । आ–आफ्नो घर पुर्यानका लागि पहल गर्नेहरु भन्दै थिए– एकै ठाउँमा नबस्नुस् तर पनि सामाजिक दूरीको कुनै प्रवाह थिएन । यत्रो मान्छेहरुलाई गाडिमा बसरी लानुहुन्छ, कोरोना टेष्ट गर्नुहुन्छ कि हुँदैन भनेर सोधनी गर्दा भन्थे– बसमा चढ्ने बेला ज्वरो आएको छ कि छैन भनेर जाँच गरिन्छ र सिटभन्दा बढी नराखी कुन गाउँ वा वडामा जानेको त्यहीँका मात्र छुट्याएर राखिन्छ र एक गाविस भन्दा अर्को गाविसमा जान दिईने छैन । घर जानेहरुमा प्रायशः केटा–केटीदेखि दूधे बच्चाहरु थिए । बच्चा, भारी र लामो दूरीको हिँडाईको थकानभन्दा पनि घर जान पाईने भयो भनेर खुसी नै देखिन्थे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्