दीपेश केसीः प्रचण्डले एक दशकअघि भनेका थिए- अब देशमा कि बुद्ध जन्मन्छ कि जङ्गबहादुर जन्मन्छ । शान्ति प्रक्रिया जोखिमहरु पार गर्दै अगाडि बढिरहँदा प्रचण्डले जुन अभिव्यक्ति दिएका थिए त्यो अहिले सत्य सावित हुँदैछ । उनले भनेजस्तै देशमा जङ्गबहादुर जस्तै शक्तिशाली प्रधानमन्त्रीको उदय भएको छ । नेपालको इतिहासमै केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्री बनेका छन् जो जङ्गबहादुर भन्दा पनि शक्तिशाली भएका छन् ।
सन् १८७५ मा नेपाल आएका रुसी नागरिक इभान पाभ्लोभिच मिनाएभले जङ्गबहादुरलाई भेटेर उनको स्वभाव र शैलीबारे लेखेका छन् । मिनाएभका अनुसार जङ्गको स्वर मसिनो थियो तर अनुहारमा कुनै क्रुरताको झल्को थिएन । ओलीको स्वर पनि मसिनो छ खरो बोल्छन् र अनुहारमा क्रुरताको कुनै झल्को थिएन । मिनाएभले जङ्गको क्षमता र प्रतिभाको वर्णन गर्दै चलाखीबारे उल्लेख गरेका छन् । ओलीमा पकड बनाउने र चलाखीपूर्वक विपक्षीलाई पेलेरै कमजोर पार्ने क्षमता छ । ओलीले एकपछि अर्को क्षमता देखाएर आफूलाई सर्वशक्तिमान प्रधानमन्त्री बनाइसकेका छन् ।
ओलीले ८ वैशाखमा अचानक दुईवटा अध्यादेश ल्याए । राजनीतिक दल र सैवैधानिक परिषदसम्बन्धी अध्यादेश दुवै ओलीले आफू अनुकूल गरी ल्याएका छन् । अध्यादेश मन्त्रिपरिषदमा निर्णयका लागि पुग्दा मन्त्रीहरुले आश्चर्यमा परेका थिए । निर्णय तत्काल भयो । जसको प्रमाणिकरण केही घन्टामै राष्ट्रपति विद्यादेवी भण्डारीले गरिदिइन् । यसबाट ओलीले एक तिरबाट बहु शिकार गरे । उनले आफू सर्वशक्तिमान प्रधानमन्त्री भएको सन्देश समेत दिन खोजे ।
ओलीले पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याएर पार्टीभित्र प्रचण्डलाई कडा चुनौती र चेतावनी दुवै दिएका छन् । कथंकदाचित पार्टी फुटाएर प्रचण्ड या कुनै समूह गएमा अरु पार्टी फुटाएर संसदमा बहुमत पुग्न नदिने र आफू निरन्तर प्रधानमन्त्री बनिरहन सक्ने अवस्था बनाइदिए । उनले अध्यादेश अस्त्र हानेर आफूविरुद्ध एकतृत भइरेहको नेकपाको हाइकमाण्ड सचिवालयका सदस्यहरुलाई नै तितरवितर पारिदिए ।
ओलीले संवैधानिक परिषदमा आफूले जे भन्यो त्यही हुने अवस्था बनाए । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न आयोगको पदाधिकारी नियुक्तिको निर्णय लिन्छ जुन राज्य संचालनको महत्वपूर्ण निकाय हुन् । शक्तिका दृष्टिले पनि ती आयोगहरु निकै महत्वपूर्ण छन् । अब ती आयोगमा ओलीले जसलाई भन्छन् त्यही पदाधिकारी बन्छ । यसअघि प्रमुख प्रतिपक्षी दलको नेता र सभामुखको साथ नभई नहुने अवस्थामा परिवर्तन ल्याएर संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिमा सजिलो बाटो खोलेका छन् । हालको अवस्थामा प्रधानमन्त्रीलाई संवैधानिक आयोगको नियुक्तिमा संवैधानिक परिषदका दुई जना सदस्यको साथ भए पुग्ने भएको छ । यसको मतलब प्रधानमन्त्री केपी शर्मा ओलीले हाल रहेका बाँकी चार सदस्यमध्ये दुई सदस्यको उपस्थिति या समर्थनमा नियुक्ति गर्न सक्नेछन् । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना उनका विश्वासपात्र हुन् । प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई साथमा लिए ओलीलाई काफी हुन्छ जुन महोल उनले बनाइसकेका छन् । अब सवैधानिक परिषदमा निर्णय लिन ओलीलाई न त देउवाको साथ चाहिन्छ न त प्रचण्डको । देशका शक्तिशाली निकाय सबैतिर उनको एकछत्र राज चल्ने भइसकेको छ ।
अध्यादेश केही घन्टामै राष्ट्रपतिबाट प्रमाणिकरण गर्न लगाएर ओलीले आफूले जे भन्यो त्यही शितवनिवासमा पनि चल्ने सन्देश दिए । जताततै उनले पकड बलियो बनाइसके । यतिसम्मकी सेनाको बलियो साथ पाउने गरी उनले माहोल तयार गरिसकेका छन् । यसमा उनलाई उपप्रधानमन्त्री समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले भूमिका खेलिदिए । हालैमात्र एक अन्तवार्तामा पोखरेलले राज्य व्यवस्थामा सेनाको भ्रष्टाचारसम्बन्धी विषय उठ्दा कडा प्रतिवाद गर्दै चेतावनी दिए । उनले सेनापति देखि पूर्व प्रधानसेनापतिसम्मलाई आरोप लगाए सह्य नहुने टिप्प्णी गरे । सेनालाई औषधी खरिदको जिम्मा ओली सरकारले दिइसकेको छ । फाष्ट ट्रयाकको साँढे दुई अर्ब लागतको परामर्शदाता सेनाले छनोट गर्दा ओली सरकार सहजकर्ता बनिदियो । यसरी ओलीले जताततै पकड बनाउन सफलता हासिल गरे । यसर ओली जताततै बलियो प्रभाव बनाउन सफल भइसकेका छन् ।
प्रधानमन्त्री भएपछि ओलीले तत्कालिन माओवादी केन्द्रसँग एकता कायम मात्र गरेनन् समाजवादी पार्टीलाई पनि सरकारमा ल्याएर दुई तिहाई पुर्याएका थिए । दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधान छँदै थियो । त्यही मौकामा उनले शक्तिशाली निकाय प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याएका थिए । गुप्तचरी हेर्ने राष्ट्रिय अनुसन्धान विभाग गृहको मातहतबाट आफू मातहतमा ल्याएका थिए । राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण छानविन गर्ने निकाय अर्थ मन्त्रालयबाट आफू मातहतमा ल्याए । राष्ट्रिय शतर्कता केन्द्र पनि प्रधानमन्त्री कार्यालयको मातहतमा लगिसकेका थिए । यसरी शक्ति केन्द्रित गरिसकेका ओलीले एकपछि अर्को गर्दै आफूलाई सर्वशक्तिमान बनाए । उनलाई इतिहासकै सर्वशक्तिमान प्रधानमन्त्री भन्दा फरक नपर्ने अवस्था बनिसकेको छ । जुन राज्य संचालनका सबै निकायमा एकलौटी वर्चश्व स्थापित गरेबाट प्रष्ट हुन्छ ।
ओलीले नेपाल कम्युनिस्ट पार्टीभित्र आफूविरुद्ध कोही उभिन नसक्ने अवस्था बनाइसकेका छन् । ललिता निवास प्रकरणमा मुछिएर माधवकुमार नेपाल ओलीविरुद्ध बोल्न नसक्ने भइसकेका छन् । माधव नेपाललाई ओलीले बालुवाटारमा बोलाएर सारङ्गी रेट्न लगाएर तस्बिर समे सार्वजनिक गरेर यस्तै सन्देश दिन खोजे । महासचिव विष्णु पौडेल ललिता निवास प्रकरणमै ट्रयापमा परे । सचिवालय सदस्य रामबहादुर थापा बादल गृहमन्त्री पद जोगाउनकै लागि पनि विरोध गर्न सक्दैनन् । ईश्वर पोखरेल ओलीका विश्वासपात्र हुन् । उपाध्यक्ष पाएका वामदेव गौतम ओलीविरुद्ध उग्र बनेकी बालुवाटारमा बोलाएर खुशी बनाइन्छन् । झलनाथ खनाल एक्लो वृहस्पति जसरी पार्टी पद्धति र प्रणालीको वकालत गर्दै कुर्लिन्छन् तर त्यसले ओलीको रौं पनि हल्लाउन नसकेको यथार्थ हो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कमजोर नेतृत्वकर्ताका कारण ओलीलाई ढुक्क छ । शेरबहादुर देउवा ओलीको कदमको खुलेर विरोध गर्न नसक्ने अवस्थामा छन् । यसलाई निकै रहस्य मानिएको छ । ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एक अन्तवार्तामा औषधी खरिद प्रकरणमा काँग्रसले विरोध गर्दा देउवाले वाइडबडी भ्रष्टाचार देखि सुनकाण्डमा भूमिका खेलेको अभिव्यक्ति दिएका छन् । ती फेहरिस्ताहरु आफूहरुसँग रहेको बताए । देउवाका कतिपय कमजोरीहरु लिएर ओलीका विश्वासपात्रहरु बसेका छन् जसका कारण उनी प्रमुख प्रतिपक्षी दलका नेताको सशक्त भूमिका निभाउन असक्षम भइसकेका छन् । यसले ओलीलाई झन् शक्तिशाली बनाइदिएको छ । अहिले राजनीतिवृत्तमा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका सुदुरपश्चिमकै नेकपा नेता डा. भीम रावलले निभाइरहेका छन् । प्रभावशाली नेताहरुमध्ये रावलले मात्र ओलीको कडा आलोचना गर्छन् ।
कुनैबेला जङ्गबहादुर राणाको देशमा एकछत्र चलेको थियो । कानुन मिचेर होइन कानुन बनाएरै जङ्गबहादुर शक्तिशाली बनेका थिए । उनैले मुलुकी ऐन ल्याएको इतिहास साक्षी छ । अहिले केपी शर्मा ओली कानुन मिचेर होइन कानुन बनाएरै सर्वशक्तिमान भएका छन् । उनले सम्पत्ति शुद्धिकरण अनुसन्धान गर्ने निकाय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग जस्ता निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउँदा संविधान र कानुन मिचेका थिएनन् । अहिले अध्यादेश ल्याएर पनि संविधान विपरित गएका छैनन् । कानुन बनाएरै उनी सर्वशक्तिमान बन्दै गएका छन् । उनको शैली जङ्गबहादुरको जस्तै छ कानुन बनाएरै शक्तिशाली बन्ने, देशमा एकछत्र राज गर्ने र आफ्ना मानिसहरुलाई जताततै व्यवस्थापन गर्ने ।
विदेश सम्बन्ध पनि बलियो भएको सन्देश ओलीले दिइसके । शनिबार सरकारी सञ्चारमाध्यमका सम्पादकसँगको दुई घन्टा लामो अन्तवार्तामा आफ्नो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राम्रो समन्वय भइरहेको बताए । चीनलाई खुशी पार्न उनले कुनै कसर बाँकी राखेका छैनन् । अमेरिकालाई खुशी पार्न एमसीसी पारित गराउन मरिहत्ते गरेकै हुन् । रुससम्म आफ्ना विश्वासपत्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पठाएर जताततैबाट बलियो समर्थन रहेको सन्देश दिइसके । जङ्गबहादुर राणाको बेलायत यात्राकै शैलीमा उनी बेलायत आफै पुगे । त्यही मौकामा फ्रान्समा पनि पुगे । जङ्गले पनि बेलायत यात्राकै क्रममा फ्रान्सको भ्रमण गरेको इतिहास छ ।
सर्वशक्तिमानको पतन
माक्सवादले स्पष्ट रुपमा कुनै वस्तुको अन्त त्यसै भित्र निहित हुन्छ भनेको छ । शक्ति विस्तार र सञ्चयको पनि सीमा हुन्छ । जङ्गबहादुर राणाले पनि शक्ति विस्तार र सञ्चयको उचाई पाएर पतन हुनुपरेको इतिहास साक्षी छ । यतिसम्मकी उनले आफूपछि आफ्ना सन्ततिका लागि पक्का गरेको स्थान पनि टिकेन । सर्वशक्तिमान बन्नेको हालत यस्तै हुन्छ ।
अहिले ओली जसरी सर्वशक्तिमान बनेका छन् र अझै शक्ति सञ्चयमा लागेका छन्, त्यसका लागि विरोधीलाई हाल्ने राजनीतिक र कानुनी खाडलहरु निर्माण गरेका छन् त्यसमा उनी स्वयं पर्ने जोखिम नभएको होइन । पार्टी फुटाउन सहज हुने गरी ल्याइएको अध्यादेश उनले नेतृत्व गरेको पार्टीकै लागि जोखिम खडा गर्ने खालको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश नेकपाकै लागि घातक हुने भविष्यवाणी गरिसकेका छन् । संवैधानिक परिषदको निर्णयका लागि आफू अनुकूलको व्यवस्था गरेबाट त्यो भविष्यमा आफ्नै लागि प्रतिकूल बन्न सक्ने अवस्था पनि हुनसक्छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा चलाख हुनथाले भने ओली अप्ठ्यारोमा पर्न सक्छन् । राजनीति सम्भावनाको खेल हो जसलाई नकार्न सकिदैन ।
१८ हजारको ज्यान गएको दश वर्ष लामो रक्तपातपूर्ण द्धन्द्धको जगबाट उठेका प्रचण्डलाई पेल्दाको परिणाम उत्तिकै खतरनाक हुनसक्छ । प्रचण्ड हात बाँधेर खुमलटारमा नबस्लान् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दललाई भित्तामा पुर्याउन खोजिएको छ । वीपीको मेलमिलाप त्यागेर राजसंस्था पक्षधरबाट टाढिएको नेपाली काँग्रेस कम्युनिष्ट प्रधानमन्त्रीको पेलाईसँग जुध्न फेरि सोच्न वाध्य हुने अवस्था बन्न सक्छ । त्यसै पनि काँग्रेसभित्र कम्युनिस्टसँग मिल्दा कमजोर भइयो भन्नेहरुको संख्या बढ्दैछ । राजसंस्थाका पक्षधर काँग्रेसभित्र नभएका होइनन् । त्यहाँ सेन्टिमेन्ट फरक बन्दैछ । हिन्दु राष्ट्रसहितको सेरेमोनियल राजसंस्थाका पक्षधर पनि छन् ।
ओलीको जङ्गबहादुरको शैलीमा शक्तिशाली बन्ने कदमले काँग्रेसलाई राजसंस्थाका पक्षधरसँग नजिक लग्दैछ । मधेश केन्द्रित दलहरु पनि त्यही मार्गतर्फ बढ्ने वाध्यात्मक अवस्था बन्न सक्छ । यस्तो अवस्थामा अहिलेको गणतन्त्रात्मक प्रणाली नै धरापमा पर्न सक्छ । लकडाउन पारेर ओलीले विगत तीन हप्तायता चालेका कदमहरु देशको राजनीतिक प्रणाली उल्टाउने दिशातर्फ उन्मुख भइरहेको छ । देशले फेरि नयाँ कोर्स लिने गरी वातावरण विकास भइरहेको छ । घटनाक्रमले सर्वशक्तिमान बनेका ओलीको पतनभन्दा पनि राजनीतिक प्रणाली नै उल्टन कोरिएको मार्ग कोरिएको देखाएको छ ।