Logo

‘प्रि–मनसुन’ले विद्युत् व्यवस्थापन सहज



काठमाडौँ, १० वैशाख । यसपटक चाँडै प्रिमनसुन सक्रिय हुन थालेपछि नेपालले आन्तरिक उत्पादनका भरमा मात्र पनि विद्युत् वितरण प्रणाली व्यवस्थापन गर्नसक्ने भएको छ ।

एकातिर लकडाउन हुँदा मुलुकभर विद्युत्को आपूर्ति घट्दै जानु र अर्कोतिर प्रिमनसुन सुरु भई खोला नदीनालामा पानीको मात्रा बढ्ने स्थिति देखिएपछि नेपालले भारतबाट आयात गर्दै गरेको बिजुलीमा ठूलो मात्रा कटौती गरिसकेको छ । हाल कुलेखानी जलविद्युत् आयोजनामा पनि पानीको सञ्चिति पर्याप्त मात्रामा रहेको छ । गर्मी बढ्दै जाँदा हिमालको हिउँ पग्लने क्रम बढ्दै गएकाले हिमनदीमा पानीको मात्रा बढ्न सुरु भइसकेको छ ।

प्रिमनसुन सक्रिय हुँदा र हिउँ पग्लदै जाँदा विशेष गरी कालीगण्डकी, मस्र्याङ्दी, त्रिशूली, भोटेकोसी, चमेलियालगायतका जलविद्युत् गृहको उत्पादन २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ । प्राधिकरण भार सम्प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईका अनुसार अहिले भारतबाट ठूलो मात्रामा बिजुली कटौती गरिएको छ । भारतबाट अहिले चौबीसै घण्टा २० मेगावाट मात्र बिजुली आयात गरिएको छ । उनका अनुसार सोमबार साँझको पिकआवरमा ८७२ मेगावाट माग रहेको थियो । त्यसलाई नेपालका आन्तरिक उत्पादनले व्यवस्थापन गर्न सकिएको छ । लकडाउनले गर्दा नेपालमा कुल मागको ४० प्रतिशत बिजुलीको उपभोग घटेको छ । जुन औद्योगिक क्षेत्रमा खपत हुने गरेको थियो ।

अहिले कुलेखानीलाई निरन्तर चलाइने गरिएको छ । यद्यपि गत वर्षको तुलनामा कुलेखानीमा यो वर्ष पानीको सञ्चिति अझै पनि धेरै भएको प्राधिकरणको छ । प्रमुख भट्टराईले भने, मङ्गलबारसम्म कुलेखानीमा एक हजार ५१२ दशमलव ४६ मिटर पानी छ । यो पानी एक हजार ४९० मिटरसम्म चलाउन सकिन्छ । उनले भने, अहिले लकडाउनका बेला भएकाले पनि माग खासै छैन । अब प्रिमनसुन सुरु भइसक्यो । गर्मीले हिउँ पग्लने क्रम बढ्दै छ । अब वैशाख दोस्रो साताबाट त कुलेखानीबाहेकका जलविद्युत् गृहबाट उत्पादन अझै बढ्न थाल्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्