काठमाडौं, बैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गरी जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले ७१औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज वक्तव्य जारी गर्दै उनले ऐतिहासिक पार्टी एकतापछि पनि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको जनाउँदै पार्टीभित्र खुला र जनवादी छलफल गरी तथ्यद्वारा सत्यको अन्वेषण गर्ने विधिमार्फत पार्टी एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका हुन्। उनले यही दिशामा सकारात्मक र रचनात्मक योगदानसहित एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्दै आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रूपमा उभिएको भन्दै अध्यक्ष दाहालले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै त्यसकाविरुद्ध एकताबद्व सङ्घर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदायमा अपिल गरेका छन् ।