Logo

एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने



काठमाडौँ, ११ वैशाख । कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा ९एसईई०को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ ।

कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ । स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ ।

बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिएका छन् । जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उनको भनाइ छ ।

बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्ने गरेको थियो । यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैँको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए । यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पारेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्