Logo

ओली-प्रचण्ड सत्ता संघर्षमा समाजवादी पार्टी फुटाउने र जुटाउने खेल



काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीलाई एउटा पक्ष फुटाउन र अर्को पक्ष जुटाउन रातभर सक्रिय भयो । साम, दाम, दण्ड भेटले दुवै पक्ष सक्रिय भएको थियो ।

पर्दाभित्र र बाहिरको खेलाडीहरु हिजो विहान देखि रातभर सक्रिय भइरहे । यस क्रममा समाजवादी पार्टीको सातजनाले नयाँ पार्टी बनाउने निर्णय गरेर गोप्य ठाउँमा लुके । उनीहरु आज निर्वाचन आयोगमा दल दर्ताको लागि पुग्नेछन् । रेणु यादवको नेतृत्वमा फुटेकाहरुको संख्या पुर्याउन डा. सुरेन्द्र यादवलाई काठमाडौं झिकाइयो । उनलाई मन्त्रीको आश्वासन दिइएको स्रोतले जानकारी दिएको छ । यादवको हस्ताक्षर नभएको भए संख्या पुग्दैनथियो ।

समाजवादी पार्टी फुटाउन प्रधानमन्त्री केपी शर्मा ओली नै भित्री रुपमा लागेको स्रोतले बताएको छ । उनको निर्देशन बमोजिम बालुवाटारबाट संयन्त्रहरु परिचालित भएका थिए । समाजवादी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइएको थियो । जसका लागि ओलीले ठूलै जोखिम मोले ।

समाजवादी फुट्न नदिन नेकपाभित्रकै अर्को शक्ति सक्रिय भएको थियो । यसका लागि प्रचण्ड सक्रिय भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । मध्यराति समाजवादी पार्टी र राजपा एकीकरण भई फुट जोगाउन प्रयास गरेका छन् । उनीहरु पनि निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्दैछन् । तर, राजपाका दुई नेताहरु अनिलकुमार झा र राजकिशोर यादव असन्तुष्ट छन् । राजपा पनि फुट्ने अवस्था बनेको छ ।

फुट र जुटको प्रतिष्पर्धामा बालुवाटार र खुमलटार सक्रिय हुनुमा नेपाल कम्युनिस्ट पार्टीभित्र र सत्ताको शक्ति संघर्ष कारण बनेको छ । सत्ता ढाल्ने र जोगाउने चलखेल अन्र्तगत यी सबै घटनाक्रम लकडाउनका बखत विकास भएका छन् ।

समाजवादी पार्टी फुट र जुटको यो रस्साकस्सीको नतिजाले नेकपाभित्रको आन्तरिक राजनीतिका अलावा सत्ताको समेत छिनोफानो गर्ने देखिन्छ । यसले प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अर्को चुनौती थपिएको छ । उनले बनाएको अध्यादेश उपेन्द्र यादवले भनेजस्तै उनकै दल नेकपाका लागि घातक बन्न सक्छ । ओलीले अध्यादेशको अस्त्र त फालेका छन् तर त्यसले उनको सत्तालाई नै जोखिममा पारेको छ ।-File Photo 



प्रतिक्रिया दिनुहोस्