Logo

सभामुख शाहीद्वारा स्वास्थ्य सामग्री सहयोग



दैलेख, ११ वैशाख : कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक पिपिआरलगायत स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नं २ का अध्यक्ष बखत भण्डारीले नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । स्वास्थ्य सामग्री सहयोग गर्ने उहाँहरुलाई नगर प्रमुख सूर्यबहादुर शाहीले धन्यवाद ज्ञापन गरे ।

यसैबीच भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधि तथा अन्य सामग्री वितरण गरिएको छ । अब ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको शाहीले जानकारी दिए ।

डुगेश्वरमा ८६ को परीक्षण

डुगेश्वर गाउँपालिकामा एकै दिन ८६ जनाको ¥यापिड डायग्नोष्टि टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट गाउँपालिकामा आएकामध्ये पहिलो चरणमा तिनको स्वास्थ्य कार्यालयका डा जीवन ज्ञवालीको नेतृत्वमा गएको टोलीले कोरोना जाँच गरेको थियो ।
जिल्लामा भारतबाट आएका व्यक्तिको एक हजार पाँच सयभन्दा बढी छन् । अहिले आरडिटी अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । बुधबारसम्म जिल्लामा ५८६ जनाको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए ।

लकडाउनमा पनि पैदल यात्रा गरेर सीमावर्ती क्षेत्रबाट दैलेख सदरमुकाम आउनेको सङ्ख्या पनि बढिरहेको छ । आइतबार र सोमबार भारतका विभिन्न नाकाबाट पैदल यात्रा गरेर दैलेख भित्रिएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा ९५० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्