प्युठान, ११ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कोभिड– १९ रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएका छन् । जिल्लाका नौ वटै स्थानीय तहलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री आज हस्तान्तरण गरियो ।
कोरोना भाइरस रोकथामका लागि नेकपा जिल्ला कमिटीमार्फत गौमुखी, झिमरुक र नौबहिनी गाउँपालिकाबाट वितरण शुरु गरिएको छ । पूर्वउपप्रधानमन्त्री गौतमले संकलन गरी पठाएका १० हजार थान मास्क, एक हजार बोतल सेनिटाइजर, एक हजार थान पञ्जा र दुई हजार थान हेड क्याप शुक्रबारसम्म जिल्लाका ९ वटै पालिकालाई वितरण गरिने जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।
नेता गौतमसँगै प्रदेश नं ५ का प्रदेशसभा सदस्य कृष्णध्वज खड्काको पहलमा पिपिई, सेनिटाइजर र मास्क संकलन गरी यसअघि नै वितरण गरिएको शर्माले जानकारी दिए । “जिल्ला पार्टीमार्फत एकद्वार प्रणालीका लागि स्थानीय तहलाई हस्तान्तरण गरेका छौँ”, अध्यक्ष शर्माले भन्नुभयो, “राजनीतिभन्दा माथि उठेर स्थानीय सरकारलाई एकताबद्ध भएर कोरोनाविरुद्ध उभिन सुझाएका छौँ ।”
बुधबार प्रदेशसभा सदस्य कृष्णध्वज खड्का र नेपल पत्रकार महासंघका केन्द्रीय सदस्य वसन्त गिरीको पहलमा बुधबा महासंघ प्यूठानलाई सुरक्षा सामग्री वितरण गरिसकिएको नेकपा प्युठानले जनाएको छ ।रासस File photo