Logo

स्वास्थ्य सामाग्री खरिदकाण्डको भण्डाफोर गर्ने पूर्व सचिव भीम कोरोना कहरको बेला प्रहरी हिरासतमा



काठमाडौं, ११ वैशाख । अहिले पूर्व सचिव भीम उपाध्याय प्रहरी हिरासतमा छन् । उनीमाथि साइबर क्राइममा अनुसन्धान भइरहेको छ । १० वैशाखमा पक्राउ परेका उपाध्याय आक्रामक विषय सामाजिक सञ्जालमा लेखिरहन्थे । तथ्यपरक ढंगले नेता र कर्मचारीमाथि शब्दले प्रहार गरिरहन्थे ।

उपाध्यायले विभिन्न भ्रष्टाचारका काण्डहरुको भण्डाफोर गर्दै आएका थिए । निजामती सेवामा काम गरिसकेकाले उनलाई त्यस्ता गतिविधि केलाउन र खुलाउन सजिलो भएको थियो । त्यसमाथि उनी इञ्जिनियर पनि थिए । ललितपुरमा बस्दै आएका उपाध्याय अधिकांश समय सामाजिक सञ्जालमा समय बिताउँथे । उनी निकै अपटेड हुने खालका थिए ।

भीम उपाध्यायले कोरोना भाइरस रोकथामका लागि सरकारले ओम्नी इन्टरनेशनलाई चीनबाट स्वास्थ्य सामाग्री खरिदका लागि टेन्डर दिंदा अनियमितता भएको भन्दै भण्डाफोर गरेका थिए । उनले मूल्यको फरक देखाएर भण्डाफोर गरेपछि सरकार अप्ठ्यारोमा परेको थियो ।
उपाध्यायले ओली सरकारका महत्वपूर्ण मन्त्रीलगायत स्वास्थ्य सचिव यादव कोइरालाको समेत पद धरापमा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यस क्रममा उनको यादव कोइरालासँग दोहोरी नै चलेको थियो । उपाध्यायले कोइरालालाई भ्रष्ट भनेपछि कोइरालाले पनि मेलम्ची प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

सामाजिक सञ्जालमा एकपछि अर्को कडा विषयहरु पोष्ट गर्न थालेपछि उनी सत्ताको तारोमा परे । जसका कारण उनी निगरानीमा थिए र साइबर क्राइमको अभियोगमा अनुसन्धानको दायरामा ल्याइएका छन् ।

यसैगरी नेपाल इन्जिनियर्स एशोसिएनले पूर्व सचिव भीम प्रसाद उपाध्यायलाई पक्राउ गरिएको घटनाको भत्र्सना गर्दै विनाशर्त रिहाईको माग गरेको छ । आज एशोशिएसनका अध्यक्ष डा. त्रिरत्न बज्राचार्य र महासचिव छविराज पोखरेलले प्रेस विज्ञप्ति जारी गरी अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्