Logo

जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै ‘लकडाउन’ खुला : मन्त्री खतिवडा



काठमाडौँ, १२ बैशाख । सरकारले छिमेकी मुलुकमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम र नियन्त्रण अवस्था हेरेर मात्रै नेपालमा जारी ‘लकडाउन’ खुला गर्ने भएको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले छिमेकी मुलुकमा कोरोना भाइरस नियन्त्रण र जोखिमको अवस्था कस्तो छ भन्ने नहेरी एकपक्षीय रुपमा लकडाउन खोल्ने निर्णय गर्ने स्थिति नरहेको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद्को बैशाख ८ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्ेमलनमा प्रवक्ता डा. खतिवडाले भने, “जोखिम मुक्त छौं भन्ने भएपछि बल्ल लकडाउन खोलिन्छ ।

जीवन रक्षा नै पहिलो कुरा हो ।” उनले स्वास्थ्य उपचारको पूर्वतयारी, स्वास्थ्य परिक्षणका विधि, उपकरण, पूर्वाधार, स्वास्थ्यकर्मीको अवस्था, नागरिकमा सचेतताजस्ता विषयमा ध्यान दिएर मात्र लकडाउन खोल्ने परिस्थिति निर्माण हुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय उडानदेखि सीमा नाका समयमै बन्द गरिएकाले भयावह स्थिति नआएको चर्चा गर्दै निकै आँटका साथ यो निर्णय गरिएको बताएका छन् ।
उनले लकडाउनमा आधारभूत वस्तु र सेवाको अवस्था, आपूर्ति व्यवस्थापन सहज हुनुका साथै जनजीवन सामान्य रहेको समेत बताएका छन् । उनले भने, “किन्न जानलाई अलिकति असहज छ ।

आम रुपमा आपूर्ति सहज हुनेगरी व्यवस्था गरिएको छ । नियमित रुपमा खाद्य वस्तुको संचय पनि हेरिरहेका छौ ।” उनले स्वास्थ्य उपकरण, स्वास्थ्य सामग्री, औषधि आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । उनले भने, “औषधि तीन चार महिनालाई पुग्ने स्टक छ । औषधि उत्पादन र कच्चा पदार्थ पनि आपूर्ति भइरहेको छ ।” (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्