Logo

महेश बस्नेत र किसान श्रेष्ठले बढी कर लगाइरहेका थिए- डा. सुरेन्द्र यादव



काठमाडौं, १२ वैशाख । अहिले समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव चर्चामा छन् । उनलाई समाजवादी पार्टी विभाजनका लागि काठमाडौंमा अपहरणको शैलीमा ल्याइएको विषय छताछुल्ल भएको छ । त्यसमा सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठका अलावा पूर्व आइजीपी सर्वेन्द्र खनाल पनि संलग्न रहेको विषय उठेको छ । यीनै विषयमा ऋषि धमलाले डा. सुरेन्द्र यादवसँग गरेको विशेष कुराकानीः
तपाईं अपहरणमा कसरी पर्नुभयो ?
यसलाई के नाम दिने  ? म त कानुनको विद्यार्थी होइन ।
तपाईंले वास्तविकता त बताउनै पर्छ नि ?
मलाई अस्ति सर्वेन्द्र खनालजीले प्रधानमन्त्री कार्यालयबाट फोन गर्नुभयो ।
तपाईं पूर्व आईजीपीले फोन गर्नुभयो ?
हो, पूर्व आईजीपी सर्वेन्द्र खनालले फोन गरेर, ‘म यहाँ प्रधानमन्त्री कार्यालयमा छु, तपाईंसँग प्रधानमन्त्रीले भेट्न खोज्नुभएको छ’ भन्नुभयो । फोनमा उहाँले भन्नुभयो, ‘तपाईं कहाँ हुनुहुन्छ ?’ मैंले भनेँ ‘म त गाउँमा छु, यो लकडाउन खुलेपछि म काठमाडौं आउँछु,’ भनेँ । यति भनेपछि त्यतिबेला कुरा सकियो ।
त्यसपछि सर्वेन्द्रजीले फोन राखिदिनुभयो ?
मैले यताबाट भनेँ, ‘तपाईले भनेको राम्रोसँग सुनिएको छैन, गाउँमा त्यति नेटवर्क हुदैन,’ भनेँ । मैंले प्रधानमन्त्रीसँग भेट्न अब लकडाउन खुलेपछि आउँछु पहिला पनि भेट्ने इच्छा थियो त्यो बेला उहाँ किड्नी प्रत्यारोपण भएको थियो । त्यसले गर्दा भेट गर्ने समय मिलने भनेपछि कुरा सकियो ।
सर्वेन्द्र खनालले फेरि भोलिपल्ट फोन गर्नुभयो ?
हो, भोलिपल्ट १० बजेतिर फोन गर्नुभयो र भन्नुभयो, ‘डाक्टरसाव जनकपुरमा हुनुहुन्छ ?’ भन्नुभयो । मैले भर्नेँ, ‘होइन म गाउँमा छु ।’ अनि उहाँले तत्कालै भन्नुभयो, ‘म यतै आएको थिएँ भेट्ने काम छ,’ मैले भनेँ, ‘त्यसोभए मेरो जनकपुर आउने कार्यक्रम छ, त्यही बस्नुस् म आउँछु’ भनेँ । अनि उहाँले भन्नुभयो, ‘होइन म तपाईंको घरमै आउँछु, म यतै आएको छु ।’ यो सुनेपछि मैले जुन सिमबाट कुरा गरिरहनु भएको त्यसमा सिम परिवर्तन गरेँ । र, छोरीलाई भनेँ कुनै यस्तो छ, जुन तिमीहरुले कम युज गरेको ? भनें । छोरीले भनिन्, ममीको राख्नुस् । मैले उनलाई सोधेँ यो सिम कसको नाममा छ ? उनले भनिन् यो ज्वाइको भाइको नाममा छ । मैले भनेँ त्यो सिम मलाई राखिदेउ भनेर सिम परिवर्तन गरेर बसेँ । सर्वेन्द्रजी यहाँ आउनुमा मलाई के संका भयो भने बोर्डरमा हेर्न होला । फेरि बोर्डरमा समस्या पनि भइरहेको थियो । यो कोरोनाको समस्याका कारण भारतबाट मानिसहरु आवतजावत भइरहने । त्यो सीममा पनि स्क्रीन टच भएको थियो । त्यहाँबाट रिडायल भइहाल्यो फेरि १० मिनेटपछि त्यो सिममा पनि कन्ट्याक भयो । फेरि उहाँले भन्नुभयो, ‘म यही नजिकै आइपुगेको छु एकछिन भेट्नुछ’ । मेरो पियसो माथि थियो उसले मलाई भन्यो, ‘डाक्टरसाव मलाई एसपीसावले गाली गरिराख्नुभएको थियो, फोन किन लाग्दैन भनेर हेर्नुस् उहाँहरु आइसक्नुभएछ अहिले पुलिस चौकीमा हुनुहुन्छ, अहिले घरमै आउँदैहुनुहुन्छ भन्यो ।’ अनि मैले रुमहरु मिलाएँ । अनि उहाँलाई एसपीले लिएर आउनुभएको रहेछ । उहाँ त पूर्व आइजीपी हो, उहाँसँग एसपी आउनु स्वाभाविक हो ।
पूर्व आइजीपीसँग एसपी आउनु स्वाभाविक हो ?
हो, अनि मैले १० जना जतिलाई खानाको व्यवस्था गर्न लगाएँ । केहीपछि उहाँहरु एउटा कारमा ४ जना आउनुभयो । त्यसमा एउटा ड्राइभर, महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनाल आउनुभयो । आइसकेपछि एउटा रुममा माथि बसाएँ । अनि मैले भनेँ । पहिला खाना खाउँ अनि कहाँ जानुछ जाउँला भनेँ । तर, उहाँहरुले होइन अहिले जाऊ डाक्टरसाव कुरा बुझ्नुहोस् गइहालौं । रामबाबुकोमा जानुपर्ने हो भन्नुभयो । अनि मैले रामबाबुलाई फोन गरेँ । उहाँले मेरो फोन उठाउनुभएन ।
माननीय रामबाबुले फोन उठाउनुभएन ?
हो, त्यसपछि म तल गएँ । अहिले जुन नम्बरबाट कुरा गरिरहेको छु त्यहाँबाट डा. बाबुराम भट्टराईलाई सचेत गरेँ कि ‘यो तीन जना व्यक्ति कहाँ आएका छन् ।’ त्यसमा मैंले नाम नलिइकन ठाउँको मात्रै नाम लिएर भनेँ । उहाँले तपार्इंं नडराउनु भन्नुभयो । अनि मैले यो नम्बर सेभ गर्नुहोस् भनेँ । पहिलो चोटी त्यही नम्बरबाट फोन गर्दा उठाउनुभएन अनि मैले एसएमएस गरेपछि बाबुराम भट्टराईले नै फोन गर्नुभयो । मैले यो कुराहरु भट्टराईजीलाई राखेर माथि गएँ । त्यसपछि उहाँहरुले खाना खानुभयो । त्यतिबेलासम्म मैले ब्रस पनि गरेको थिएन १२ जति बजेको थियो । खाना खाएर उनीहरुलाई डाक्टरसाव तपाईं पनि तयार हुनुहोस् जाऊ भन्नुभयो । मैले भनेँ म त फ्रेस पनि भएको छैन । तपार्इंहरु अहिले जानुहोस् म पछि आउँछु भनेँ । तर, उहाँहरुको के के एउटा कुरा जानुपर्छ भन्ने अर्को चाहीं दुई÷तीन कुराहरु मिक्स गरेर के के भन्न थाल्नुभयो ।
सर्वेन्द्रजी, महेश बस्नेत र कृष्णकुमार श्रेष्ठले के के भन्नुभयो ?
खासगरी महेश बस्नेत र कृष्णकुमार श्रेष्ठजीले बढी कर लगाइरहेका थिए । सर्वेन्द्रजीले चाहीं अहिलेको सरकारमा हाम्रो पोजेटिभ धारणा छ राम्रो व्यक्ति पनि आओस् भन्नुभयो । त्यसकारण प्रधानमन्त्रीले हजुरसँग भेट्न खोज्नुभएको हो । मैंले भनेँ, ‘अझै दुई अढाईं वर्ष छ जब म कुनै पार्टी ज्वाइन गर्छु । या कुनै पार्टीबाट उठ्छु भने पनि भनेँ । यहाँ ‘र’ र ‘वा’ को कुरा थियो । हाम्रो पार्टीका साथीहरुमा पनि सरकारबार हट्दा उहाँलाई चित्त बुझेको थिएन । त्यो साथीहरुले त जुन दिन छुटेको थियो त्यो ‘र’ र ‘वा’ को कुृरा गर्छु भनेर राखेका थिए ।
त्यो बेलामा पनि तपाईंसँग कुरा भएको थियो ?
हो, त्यो बेलामा पनि मैले स्पष्ट धारणा राखेको थिएँ । मैले अध्यक्षजीलाई पनि भनेको थिएँ, हाम्रा आफ्नै पार्टीका साथीहरु असन्तुष्ट छन् भनेर । उहाँहरु मलाई भन्न थाले तपाईंमाथि धेरै समस्या हुन सक्छ । प्रधानमन्त्रीको धेरै चाहना छ । त्यसकारण तपाईंंलाई किन समस्यामा हालौं भनेर हामी आएका हौं भनेर दबाब सिर्जना गर्ने हिसाबले कुरा गर्न थाल्नुभयो । उहाँहरुले भनेजस्तो नहुँदा नभएका कुरा गरेर पनि फकाउने धम्कीपूर्ण कुराहरु हुन थाले । अनि मैंले जति ढिला गर्दा पनि जाउँ कि जाउँ भनेर दबाब दिन थाल्नुभयो । मैंले भनेँ एसपीसाव आउनुभएन । उहाँहरुले भन्नुभयो यतै हुनुहुन्छ । खाना तयार थियो, फेरि उहाँहरुले भन्नुभयो, होइन उतै खानुभयो होला । अनि मैले एसपीसावलाई देखिन मलै सोचेँ कि अब जनकपुर जान्छु र उहाँहरुलाई जसरी पनि पठाइदिन्छ भन्ने सोचेँ । अब बीच बाटोमा आउँदा कौशल भाइले क्रस गर्यो । ऊ बिहान, बिहान गौशाला ब्यामिन्टन खेल्न जान्छ । उनीहरुको गाडीमा राखेका थिए । मैंले भाइलाई भेटेपछि एकछिनमा कपडाहरु लिएर आउछु भनेर फर्किएँ । घरमा गएर पिएसोलाई पनि बोलाऊ गाडी पनि ल्याऊ अर्को वडा सदस्य भाइ छ । उसलाई मलाई यस्तो दबाब भइरहेको छ । तिमी पनि गाडी लिएर हिँडे मलाई फलोअप गरे भनेँ । अनि मेरो गाडी पछिपछि उसको गाडी पनि आउँदै गर्यो । अनि बर्दिवासमा पुगेपछि मैले उहाँहरुसँग प्रश्न गरेकै हो ।
बर्दिवास पुगेपछि के प्रश्न राख्नुभयो ?
त्यहाँ मैले भनेँ, ‘तपाईंहरु जुन कुरा गरिराख्नुभएको छ, त्यो पार्टी फुटाउने कुरा हो । त्यो पार्टी फुटाउनको लागि त कोही सांसद हुन्छ हाम्रो पार्टीको त्यो व्यक्तिहरु कहाँ छन् मैले देखिनँ ? त्यसपछि हाम्रा अर्का सांसद अगरियाजीलाई बोलाउनुभयो । मैले सोधेँ के छ ? प्लान् होइन असन्तुष्टिहरु छ । यस्तो भयो उस्तो भयो भन्ने असन्तुष्टिहरु उहाँले राख्नुभयो । यहाँ आउँदा पनि मलाई अलग गाडीमा बस्न दिइएन । त्यहाँ मैले सुनाडी डाक्टरसावलाई भेट्नु छ जान्छु भन्दा उहाँहरुले होइन उहाँलाई यही बोलाउन भन्नुभयो । उहाँहरु केही पर पुगेपछि मैले सुडाणीजीलाई भने डाक्टरसाव मलाई सन्चो छैन भन्नुहोस् तिमी नै जनकपुर आउनुहोस् भन्नुस अनि म जनकपुर आउँछु भने । डाक्टरसाव मेरो फोन सम्वाद लाउडस्पिकरमा सबैजनाले सुन्ने गरी भनेँ । ंसबैजना जाने भनेर जनकपुर गइयो । सुडाणी डाक्टरसावलाई भेटियो । अहिलेको प्रक्रियाको बारेमा पनि उहाँलाई सुधियो । उहाँले भन्नुभयो मलाई पनि कसले फोन गरेको थियो । मैले भनिदिएँ म त डाक्टर मान्छे राजनीति गर्दिन भने पनि त्यहाँको कुरा सकियो । मलाई कसैसँग कुरै गर्न दिइएको छैन । यतिसम्म कि भिनाजुलाई पनि भेट्न पाएको थिइँन मैले फोन गरेर भनेँ मलाई भेट्नुस भनेर । रामानन्द चोकमा मेरो गाडी यहाँ छ, उहाँहरुको गाडी त्यहाँ छ । मैले भनेँ हजुरहरु यहाँ बस्नुहोस् म दिदीको घर पुगेर आउँछु । मलाई यो भइराखेको कि कुन बेला यहाँबाट फुत्किहालौं । फेरि गाडी चढ्ने बेलामा होइन त्यसो कुनमा मन लाग्छ त्यसैमा बसौ न त भन्ने पनि कुरा आयो । त्यहाँबाट फेरि बर्दिवास पुगियो उहाँहरुले अर्को सेतो गाडी ठिक पार्नुभएको थियो । अनि बर्दिवासबाट यहाँबाट छिटोछिटो जाऊँ माथि गएर कुरा गरौं यहाँ अलि धेरै नराम्रो भयो भन्नुभयो । फेरि मेरा दुवै मोबाइल सन्जोगबस रातो गाडीमा छुट्यो । यहीबीचमा यो कुराहरु आयो । मेरो भाइले दाइको केही इच्छा छैन यस्तो गरेर उनीहरु आएर लगिरहेछन् भनेर प्रदेशका मन्त्रीलाई भने छ । त्यसपछि उहाँहरु पनि मलाई खोज्न जानुभएछ । त्यो छुटेको मोबाइलमा फोन आयो र त्यहाँबाट त्यो भाइले उठाएर सुचित गरेको हो । त्यसपछि सिन्धुलीमा आएर खाना खुवाउनुभयो ।
त्यसपछि काभ्रेमा खानाको व्यवस्था गरेको थियो । मेरो गाडी पछिपछि थियो । त्यो गाडी आएपछि उहाँहरुले भन्नुभयो फोन एकपटक उठाउनुस् न त । ऋषिजी तपाईं पनि मलाई चिन्नुहुन्छ म कहिल्यै झुट बोल्दिनँ । म यस्तो मान्छेलाई उहाँहरुले सरकारको पावरको आडमा प्रधानमन्त्रीले यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भन्ने जस्ता ड्याँसिङका कुरा आउँदा म नाई भन्छु भने कति प्रेसर दिइयो होला ? कति डर, त्रास, धम्की दिए होलान् मलाई नै थाहा छ । त्यसपछि जब मैंले फोनमा कुरा गर्न पाएँ अनि मैले बाहिर गएर मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेँ । काभ्रेसम्म आइपुग्दासम्म उहाँहरु कन्फिडेन्समा पुगिसक्नुभएको थियो कि अब डाक्टरसावले पनि मान्नु हुन्छ भनेर । फोन गरिसकेपछि अध्यक्ष उपेन्द्रजीले भन्नुभयो तपाईं कहाँ पुग्नुभयो ? मैले भनेँ अध्यक्षजी म कहाँ आउँ ? अध्यक्षले भन्नुभयो मेरो गेटमा आएपछि फोन गर्नु म बाहिर आउँछु । त्यतिमै फोन बन्द भयो । जब मलाई होटलमा पुर्याइयो । त्यसपछि अध्यक्षको फोन आयो मैंले उहाँलाई भने मेरो गाडी कौशल भाइले लिएर गयो । म होटल म्यारिउट काठमाडौंको ७०३ मा छु भनेपछि उपेन्द्रजीले भन्नुभयो तपाईंं त्यहाँबाट मोनिङवाकको बहानामा निस्किनुहोस् भन्नुभयो । त्यसपछि उहाँहरुसँग कुरा हुन थाल्यो ।
उहाँहरुसँग चाहिं त्यसपछि के के कुरा भयो ?
‘यो जिम्मा गोकुल बाँस्कोटाजीलाई दिइएको थियो । गोकुल बाँस्कोटाजीले समाजवादी पार्टीको सबै तयारी छ भन्नुभयो । डाक्टरसाव इन्भल्ब हुनुहुन्न मलाई त्यो पनि थाहा छ । तर यहाँ तयारी नै नभइकन यो अध्यादेश आएको हो । त्यसकारण हजुर जस्तो व्यक्तिसँग प्रधानमन्त्रीले भेट्न खोज्नुभएको हो’, भन्ने कुराहरु भए । बाटोमा आउँदा मलाई प्रधानमन्त्रीसँग फोनमा कुरा पनि गराउनुभएको थियो ।
प्रधानमन्त्रीसँग तपाईंको बाटोमै आउँदा फोनमा कुरा भयो ?
हो, किसानले नै फोन गर्नुभएको थियो । प्रधानमन्त्रीले उठाउनुभएन पछि उहाँको पिएले उठाउनुभयो र उहाँलाई दिनुभयो । अनि कुरा भयो, त्यसबेला ठीक सम्माननीय म भोलि तपाईंलाई भेट्छु भनेँ । त्यसकारण यसका बारेमा प्रधानमन्त्रीसँग डिटेलमा केही कुरा भएको छैन ।
प्रधानमन्त्री अरु कुनै कुरा भएन ?
भएन, किन म बाटोमा हुँदा फोनमा कुरा भएको हो । त्यसमा त्यति कुरा पनि बुझिएन मैले भनेँ उहाँहरु लिन जानुभएको रहेछ बाटोमा आउँदैछु भोलि भेट्छु भनें त्यति हो । उहाँहरुले पनि भन्नुभयो प्रधानमन्त्रीज्यू हामीहरुसँगै छौं आइपुग्न लाग्यौं भनेर । यहाँ आइसेकपछि पनि उनीहरुको आउजाउ भइराखेको थियो । मैले पनि पिएसो र भिनाजुलाई अर्को रुममा राखेको थिएँ । किन भने उसले गाउँतिर खर गर्न सक्थ्यो । भाइलाई आपूmसँग राखेँ र उसलाई बाहिरको माहोल बुझ्न लगाएँ । उसले भन्यो यिनीहरु पेपर तयार गर्दैछन् । अब हामीहरु यहाँबाट जसरी पनि निस्किनुपर्छ । फेरि जबर्जस्ती गर्लान् भन्यो । मैले भनेँ एकछिन सुत । एकछिनपछि किसानजी आउनुभयो के छ डाक्टरसाव भनेर सोध्नुभयो । मले भनेँ दुईघण्टा कमसेकम सुतौ । म सात बजे उठ्छु त्यसपछि कुराकानी गरौंला भनेँ । त्यसपछि उहाँहरु जानुभयो फेरि बीचमा आउनुभयो । राजीवभाइले भन्यो उहाँ त सुतिराख्नुभएको छ । अनि कपडा फेरेँ र माक्स लगाएँ अनि तल झरेर भने मर्निङवाक गर्न मिल्छ कि मिल्दैन ? गार्डले भन्यो मिल्छ सर माक्स लगाउनुभएको छ हुन्छ भन्यो । राजीव भाइ फोन गरेर अध्यक्षलाई भनिरहेछ कि तपाई छिटो गाडी पठाउनुस् भनेर । १५ मिनेट मर्निङवाक गरेँ अनि गाडी आयो अनि म निस्कएको हुँ ।
त्यसपछि तपाईं बाबुराम भट्टराईको घरमा पुग्नुभयो होइन ?
हो, त्यहाँबाट निस्किएपछि डा. बाबुराम भट्टराईकोमा गएँ ।
पार्टी फुटाएर आउँदा तपाईंलाई मन्त्री बनाउने प्रस्ताव आएको थियो हो ?
हो, मन्त्री पनि पाउने हो । धेरै राजनीतिक नियुक्तिहरु पनि छन् त्यो पाउने हो भनेर उहाँहरुले कुराहरु राख्नुभयो ।
त्यसोभए समाजवादी पार्टी फुटाउने पहल भएको थियो हो ?
भएको थियो ।
तपाईंहरुको पार्टी फुटाउने रणनीतिमा महेश बस्नेतको भूमिका बढी रह्यो होइन ?
उहाँहरु त यस्तो भन्नुहुन्थ्यो । गोकुल बाँस्कोटाजीलाई जिम्मा दिइएको हो । उहाँले सक्नुभएन । म यही ड्रेसमै छु । अनि प्रधानमन्त्रीले हामीलाई जिम्मा दिनुभयो । उहाँको त पार्टीमै प्रश्न उठिरहेको छ तपाईंले यो अध्यादेश किन ल्याउनुभयो भनेर ? के आफ्नै पार्टी फोर्नको लागि हो ? अनि प्रधानमन्त्रीजीले भन्नुभयो हाम्रो समाजवादी पार्टी फोर्न ल्याएको हो । यो खासगरी गोकुल बाँस्कोटाको फितलोपनका कारण प्रधानमन्त्री समस्यामा पर्नुभयो । अनि यो काम कुनै पनि हालतमा गर्नुपर्ने भएकाले हामी तपाईंकोमा गएका हौं भन्ने उहाँहरुको कुरा थियो ।



प्रतिक्रिया दिनुहोस्