काठमाडौं, १२ वैशाख । महामारीसँग देश जुधिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले ८ वैशाखमा ल्याएको दुई अध्यादेश चार दिनपछि फिर्ता गर्नुपर्ने वाध्यात्मक अवस्था आयो । हठी स्वभावका ओलीले आफूले चालेको कदम निकै गाहे मानेर फिर्ता त गरे तर उनीमाथि नैतिक प्रश्न नेकपाभित्र उठिसकेको छ । विशेषगरी पूर्व माओवादी नेताहरुले यो प्रश्न उठाइसकेका छन् । पूर्व एमालेका पनि माधव नेपाल र झलनाथ खनाल निकटस्थले नैतिक प्रश्न उठाइरहेका छन् ।
पार्टीभित्र दबाब बढ्दै जाँदा ओलीले आन्तरिक व्यवस्थापन र बाह्य व्यवस्थापनलाई गति दिएका छन् । उनले जुन उद्देश्यले अध्यादेश ल्याए त्यो उद्देश्य अनुसार नभएपछि फिर्ता लिएपनि अब नयाँ रणनीति बनाएका छन् । उनको ध्यान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवातर्फ गएको छ । देउवासँग उनले सम्पर्क बढाइरहँदा आज बालुवाटारमै डाकेर भेटवार्ता गरेका छन् । दुई अध्यादेश खारेज भएलगत्तै उनको देउवासँगको भेट अर्थपूर्ण मानिएको छ ।
अब देउवाको दाबीको समेत ख्याल राख्दै ओलीले संवैधानिक आयोगहरुको नियुक्ति अगाडि बढाउने बुझिएको छ । अध्यादेश सफल गरेको भए उनलाई प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाको पनि साथ चाहिदैनथियो । संवैधानिक परिषदमा अब देउवाको समेत साथ लिएर ओली अगाडि बढ्ने रणनीति लिएका छन् । नेकपाभित्र प्रचण्डको साथ खोज्ने नभए देउवासँग साथ लिएर भएपनि बढ्ने संकेत ओलीले गरिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा देउवाले आफू निकटलाई बनाउन एक सदस्यको दाबी गरिरहेका छन् । दुई सदस्य खाली रहेको अख्तियारमा प्रचण्डले पनि आफ्नो तर्फबाट एकजनालाई राख्न खोजिरहेको छ ।
४० भन्दा बढी संवैधानिक आयोगको नियुक्तिमा ओलीले आफ्नो तरिकाले नियुक्ति गर्न खोजेका थिए । तर, प्रचण्ड र देउवाको आफ्नै दाबीका कारण सफल हुन सकेको थिएन । अध्यादेश ल्याउनुमा संवैधानिक आयोगको नियुक्ति नहुनु पनि कारण थियो । अब देउवालाई साथ लिएर ओलीले प्रचण्डलाई पनि गलाउने रणनीति बनाएको देखिन्छ । यसका लागि उनले देउवासँग विश्वासपात्र पठाएर छलफल घनीभूत पारेको थिए । आजको भेटले अब नयाँ राजनीतिक माहोल तयार गर्ने संकेत देखिइसकेको छ ।-Photo Source: PM Press Advisor