भैरहवा, १२ वैशाख : रुपन्देहीको भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै स्यानिटाइजर छर्किने वयवस्था गरिएको छ । बन्दाबन्दीका कारण मानिसको आवतजावतमा रोक लगाइए पनि ढुवानी दैनिक हुने गरेपछि स्वास्थ्य सुरक्षाका लागि स्यानिटाइजर छर्किने काम गरिएको कार्यालयले जनाएको छ ।
दैनिक एक सयकोे हाराहारीमा भारतीय कन्टेनर भन्सार कार्यालय हुँदै नेपाल आउने गरेका छन् । जसका कारण सीमा क्षेत्रका बासिन्दाले कोभिड–१९ का भाइरस आउन सक्ने गुनासो गरेपछि भन्सार कार्यालयले स्यानिटाइजर स्प्रे शुरु गरेको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ । कार्यालय प्रमुख कमलकुमार भट्टराईले भन्सारले भारतीय कन्टेनर चलाएर आउने चालक तथा चालक बस्ने क्याबिनमा समेत डिटोल स्यानिटाइजर छर्कने गरिएको जानकारी दिए ।
“भारतीय चालकलाई स्वास्थ्यकर्मीले जाँच गर्छन, जाँचपछि कन्टेनर र चालकलाई पूरा स्प्रे गरेर भन्सार गेटभित्र अनुमति दिने गरिएको छ”, भन्सारका अधिकृत गोपाल शर्माले भने । बन्दाबन्दीपछि भारतीय बजारबाट खाद्यान्न, तरकारी, फलफूल, डिजल, पेट्रोल, ग्यासलगायतका सामान बोकेका कन्टेनर दैनिक आउने गरेका छन् । रासस