काठमाडौं, बैशाख १३ । सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीभित्र पकड जमाउन अन्य नेताहरुलाई आ–आफ्नो पक्षमा फकाउन थालेका छन्। ओलीले माधवकुमार नेपाललाई पटकपटक बालुवाटार बोलाएर घण्टौं कुराकानी गर्न थालेका छन्।
दाहालले पनि तीन दिनको बीचमा दुई पटक रामबहादुर थापा र उनी पक्षका नेतालाई खुमलटारस्थित निवासमा बोलाएर बैठक गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मात्र भेटिरहेका छन्। उनले नेपाल पक्षका अन्य नेतालाई भने भेटेका छैनन्।
राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेशमा गृहमन्त्रीसमेत रहेका थापाले ओलीलाई साथ दिएपछि दाहाल झस्केका छन्। त्यसैले दाहाल थापालाई फकाउन लागिपरेका हुन्। खुमलटार निकट स्रोतका अनुसार दाहालले थापा र उनको समूहका नेताहरु देव गुरुङ, पम्फा भुसाल, सूर्य सुवेदीलगायतलाई भेटेर आफ्नो धारणा राखेका छन्।
दाहाले मंगलबार बेलुका थापासहित गुरुङ र भुसाललाई बोलाएर भेटेका थिए। उनले बिहीबार भने थापासहित गुरुङ भुसाल र सुवेदीलाई बोलाएर छफफल गरे। छलफलमा दाहालले अबदेखि पार्टी फुटाएर मोहन वैद्य पक्षमा गएको भन्ने दोषारोपण गरी थापा समूहसँग विभेद गरिने छैन भन्दै आत्मालोचना गरेका थिए।नागरिक दैनिकबाट