देवप्रकाश त्रिपाठी: त्यो भौतिक सुख–सुविधा प्राप्तिको उत्कर्षपूर्ण समय थियो । मानसिक शान्तिसमेत खरिद गर्न सकिने त्यस समयमा मानिसहरू यति एक्लाएक्लै भइसकेका थिए कि लाग्थ्यो– कसैको कसैसँग कुनै साइनो र सरोकार छैन, सबैको सबैसँग एउटा न एउटा मतलबको सम्बन्ध र सम्पर्क मात्र छ । समय गुजार्नका लागि कतिपय मानिस पुराना शताब्दीका आफ्ना पुर्खाहरूको सामाजिक र पारिवारिक जीवनकथाहरू पढ्थे । त्यसले उनीहरूलाई निकै रोमाञ्चित बनाउँथ्यो ।
अनेकौँ क्लिनिक र पार्लरहरू खुलेका थिए, कुनै बढी उत्साहीहरूलाई सामान्य बनाउनका लागि हुन्थ्यो भने कुनै निराश बनेकाहरूका लागि । दौलत चाहिन्थ्यो वश ! उपलब्ध नहुने कुनै वस्तु नै थिएन ।
विज्ञानको विकास चरमोत्कर्षमा पुगेको थियो । रोबोटको उच्चतम् विकास गरी घरेलु कामदार तथा शारीरिक श्रम खर्चिनुपर्ने सबै क्षेत्रमा त्यसैको प्रयोग हुन थालेको थियो । वृद्धावृद्धाहरूलाई मनोरञ्जन गराइ समय कटाउने, बच्चाहरूलाई खेलाउने र विद्यालय पुऱ्याउने तथा घर फर्काउने काममा समेत रोबोटहरूको प्रयोग हुन थालेको थियो । बच्चा पेटमा आउनेबित्तिकै जिनको अध्ययन गरी कस्तो आकार, प्रकार, गुण, स्वभाव र क्षमताको मानिस जन्मँदै छ भन्ने थाहा हुन सक्थ्यो । कुन रोग लाग्न सक्ने सम्भावना छ भन्ने पत्ता लगाई भविष्यमा लाग्न सक्ने रोगको उपचारसमेत गर्भमै गरिने पद्धतिको विकास भइसकेको हुँदा रोग लागेर अकालमै मर्नु नपर्ने अवस्थाचाहिँ विज्ञानले सिर्जना गरिदिएको थियो ।
अलिक बढि नै खर्चिलो भए पनि आफ्नो इच्छाअनुसारको उचाइ, क्षमता, करूणा, क्रोध, दया, बुद्धि, मोटाइ, रङ्ग र स्वभाव भएको सन्तान जन्माउन सकिने सुविधा विज्ञानले उपलब्ध गराएको थियो । मानिसलाई एउटा कुनै उपकरणमा सशरीर प्रवेश गराएर सशरीर अर्को निर्धारित स्थानमा पुऱ्याइदिने प्रविधिको पनि विकास भएको थियो । फयाक्सका माध्यमबाट पत्राचार भएझैँ यताका मानिस उता र उताका यता गर्न सक्ने चामत्कारिक विकास विज्ञानले गरेको भए पनि त्यसको मानव शरीरमा ज्यादा विकिरणीय असर पर्ने भएकोले प्रयोगमा भने कमै मात्र ल्याइने गरिएको थियो । बरू हवाइजहाजको परिमार्जन गरी गतिमा दुगुना वृद्धि गरिएको थियो । सर्वसाधारणका लागि अन्तरिक्ष पर्यटनलाई निकै सहज र सरल तुल्याइएको थियो ।
हाम्रो सौर्य परिवार पार गरी अर्को सौर्य परिवारको सीमा छिचोलेर पृथ्वीसँग धेरै मिल्दोजुल्दो प्राणी–ग्रह पत्ता लागेको थियो, तर भाषाका कारण सम्बन्धित ग्रहका प्राणीसँग सम्वाद–सम्पर्क स्थापना गर्नचाहिँ सकिएको थिएन । वैज्ञानिकहरू नयाँ प्राणी–ग्रहमा सम्पर्क बनाउन प्रयासरत थिए । भूकम्प र त्यस्ता कुनै पनि प्राकृतिक विपत्तिको शतप्रतिशत भविष्यवाणी गर्न सक्ने उपकरण निर्माण भएका थिए ।
विज्ञानको चामत्कारिक विकाससँगै मानव–जीवन बढी यान्त्रिक बनेको थियो । तयारी खाना (Junk food) को प्रचलन व्याप्त थियो, त्यसमा पनि पानी र खाद्य पदार्थको पूर्तिसमेत ट्याबलेट र क्याप्सुलका माध्यमबाट गर्न थालिएको हुँदा मानिसको जीवनशैलीमा व्यापक परिवर्तन आएको थियो । यान्त्रिक जीवनशैलीको प्रभावका कारण मानिसहरूको सोच पनि बदलिएको थियो । सायद यान्त्रिक ‘जङ्क फुड’को असरको कारणले हुन सक्छ, मानिसको सन्तान उत्पादन गर्ने क्षमतामा चाहिँ निकै ह्रास आउँदै थियो । खासगरी पुरूषमा शुक्रकीट कम बन्ने र महिलामा डिम्ब तयार हुने क्षमता ज्यादै कम हुँदै गएकोले मानिसको जन्मदर घट्दै जान थालेको थियो । कुनै पनि धर्म, परम्परा र सांस्कृतिक प्रभावबाट मानिस मुक्तप्रायः थिए । धर्मगुरू, पुरोहित र पादरीहरूको अस्तित्वसम्म जोगिएको थियो, तर तिनले धार्मिक, सांस्कृतिक र पारम्परिकभन्दा पर्यटकीय महत्त्व बोकेका थिए ।
देशको अस्तित्वले निरन्तरता त पाउँदै थियो, राज्यप्रति मानिसको आस्था र विश्वासमा भने ह्रास आएको थियो । चुनाव र राज्यसत्ताजस्ता कुराहरू मानिसका निम्ति गौण बन्दै गएका थिए । शिष्ट र सभ्य मानिसहरूको बाहुल्य रहेका कारण नियम–कानुनको पालना गराउने निकायको भूमिकासमेत सीमित हुँदै थियो ।
भौतिक सुखको साम्राज्यले यसरी सिङ्गै पृथ्वीमा आधिपत्य जमाएको आधा शताब्दीभन्दा बढी भइसकेको थियो । त्यसरी मानवका लागि आनन्दको उत्कर्ष प्राप्ति भइरहँदा वैज्ञानिकहरू भने धर्तीको दिन–प्रतिदिन बढ्दो तापमान कसरी नियन्त्रण गर्न सकिन्छ, कसरी विकसित सभ्यतालाई जोगाइराख्न सकिन्छ र पृथ्वीमा प्राणीको रक्षा कुन उपायले गर्न सकिन्छ भन्ने विषयलाई लिएर व्यग्र थिए । (क्रमशः)