Logo

शैक्षिक सत्र परिवर्तन नहुने



काठमाडौँ, १४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ ।

सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ । आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।

तत्काल परिवर्तन हुँदैन : महानिर्देशक
शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले कोरोना सङ्क्रमणको मात्रै कारण देखाएर शैक्षिक सत्र नसार्ने टुङ्गोमा शिक्षाका अधिकारीहरू पुगेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलिया यस वर्ष असामान्य परिस्थितिका कारण वैशाखबाट विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने बताएका छन् ।

सरकारले विगत केही वर्षदेखि वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । यसले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन सकारात्मक पहल गरेको जनाइएको छ लाखौँ विद्यार्थी तथा अभिभावकको सरोकारको विषय भएको र धेरै दूरगामी प्रभाव पार्ने विषय भएकाले यसमा धेरै पक्षसित छलफल गर्नुपर्ने महानिर्देशक थपलियाको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्