Logo

हरियो तरकारी र फलफूलको आयात उच्च



भैरहवा, १४ वैशाख : बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट हरियो तरकारी र फलफूलको आयात उच्च देखिएको छ । गत चैत ११ देखि वैशाख ११ गतेसम्म ३१ दिनको अवधिमा रु ६२ करोड ८५ लाख ९८ हजार बराबरको तरकारी तथा फलफूल आयात भएको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ५० करोड ८९ लाख २३ बराबरको आयात भएको थियो ।

बन्दाबन्दीको ३१ दिनको अवधिमा रु २५ लाख ९९ हजार मूल्यको २४२ मेट्रिकटन मात्रै हरियो सागसब्जी भारतबाट आयात भएको छ । गत वर्षको यही अवधिमा आयात भएको भन्दा ३१ टन बढी हो । गत आव २०७५÷७६ को चैत ११ देखि वैशाख ११ सम्मको अवधिमा रु २२ लाख ७७ हजार मूल्यको २११ मेट्रिकटन हरियो सागसब्जी भारतबाट आयात भएको थियो ।

प्याजको आयात पनि बन्दाबन्दीको अवधिमा बढी भएको छ । गत आव २०७५÷७६ को चैत ११ देखि वैशाख ११ सम्ममा रु पाँच लाख १८ हजार मूल्य बराबरको चार मेट्रिकटन प्याज आयात भएको थियो । चालू आवको चैत ११ देखि वैशाख ११ सम्म रु २१ करोड ३४ लाख ७९ हजार बराबरको पाँच हजार ८०५ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । जुन गत वर्षभन्दा पाँच हजार ८०१ मेट्रिकटन बढी हो ।

बन्दाबन्दीमा गोलभेडाको आयात पनि बढी भएको देखिएको छ । गत आवको चैत ११ देखि वैशाख ११ सम्म रु एक करोड ६८ लाख सात हजार मूल्य बराबरको एक हजार ५६० मेट्रिकटन आयात भएकामा चालू आर्थिक वर्षको चैत ११ देखि वैशाख ११ सम्म रु दुई करोड ४० लाख छ हजार मूल्य बराबरको दुई हजार २६८ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिनुभयो । यो गत आवभन्दा ७०८ मेट्रिकटन बढी हो ।

“स्थानीय तरकारी तथा फलफूलको बजारीकरण नभएकाले भारतबाट आउने तरकारी तथा फलफूलको आयात उच्च भएको हो”, उहाँले भन्नुभयो । आलु गत आवको चैत ११ देखि वैशाख ११ सम्म रु १० करोड १६ लाख १९ हजार बराबरको चार हजार ८५२ मेट्रिकटन आयात भएको थियो भने चालू आवको चैत ११ देखि वैशाख ११ सम्म रु १२ करोड ६३ लाख ६० हजार मूल्य बराबरका पाँच हजार ६३ मेट्रिकटन आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी पूर्ण लम्सालले बताउनुभयो । यो गत वर्षभन्दा १७१ मेट्रिकटन बढी आयात भएको कार्यालयले जनाएको छ ।

बन्दाबन्दीको समयमा भैरहवा भन्सार कार्यालयबाट चना, काँचो नरिवल, काँचो केरा, आँप, सुन्तला, अङ्गुर, कागती, तरबुजा, मेवा, स्याउ, अनार, कटहर गत वर्षभन्दा भारतबाट अत्यधिक बढी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जनाएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्