Logo

‘ए’ स्तरको रेटिङमा नेपाल बैङ्क



काठमाडौँ, १५ वैशाख । नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैङ्कको कर्जा जोखिम न्यून रहेको बुझिएको बैङ्कले जनाएको छ ।

विश्वमै ख्यातिप्राप्त मुडिज्को स्ट्यान्डर्ड बमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल बैङ्कलाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको हो । ‘ए’ स्तरको रेटिङ प्राप्त गर्ने बैङ्क तथा वित्तीय संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्नसक्ने पर्याप्त क्षमता हुने र कर्जा जोखिम न्यून रहने भन्ने आधार प्रमाणित हुन्छ । इक्रा रेटिङसँगै बैङ्कप्रतिको विश्वसनीयता बढ्नुका साथै बैङ्कको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन् । बैङ्कद्वारा वित्तीय दबाब व्यवस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैङ्कको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वको विश्लेषण, बजार हिस्सा, ब्रान्ड तथा इमेज, स्वस्थ मुनाफाको आधारमा रेटिङ गरिएको हो ।

यस्तै नीतिगत तथा कानुनी प्रभावको मूल्याङ्कन, पँुजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नका लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधार, जोखिम वहन गर्नसक्ने क्षमता, सम्पत्तिको गुणस्तर, पर्याप्त तरलता तथा पुँजीकोष, आम्दानीका स्रोत तथा तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र इन्डस्ट्रीको जोखिमलगायतका तथ्यको आधारमा नेपाल बैङ्क ‘ए’ रेटिङमा परेको हो । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्