काठमाडौं, १५ बैशाख । समाजवादी पार्टीका सांसद प्रदीप यादव विभिन्न कारणले मिडियामा चर्चित नाम बनेको छ । उनको राजनीतिक उदयलाई नजिकबाट चिन्नेहरु पनि यो कुरा मान्न तयार छन् । नेपालमा २०७२ सालमा संविधान जारी हुँदै गर्दा यादव नेपालको मुख्य व्यापारिक नाका पर्साको बीरगन्जमा बसेर संविधानको विरोधमा आन्दोलनको नेतृत्व गरिरहेका थिए । मधेशवादी दलको आन्दोलन र विरोधका बावजुद नेपालले त्यतिवेला भारतबाट नेपालमा हुने आयात निर्यातसमेतमा अवरोधको अवस्था भोग्नुपरेको थियो।
सत्ताको नेतृत्व त्यतिवेला अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । वीरगन्जमा ओली सरकार ढाल्ने उद्घोषका साथ ठूलो आन्दोलन भएको थियो । आन्दोलनकारीलाई खाने, बस्ने सबै कुराको बन्दोबस्तो उनै सांसद यादवले गरेको चर्चा हुन्थ्यो । यादवले भारतीय नेताहरुसँगको आफ्नो सम्बन्ध देखाउँदै पार्टीभित्र पनि राजनीतिक स्पेश खोजिरहेको र २०७४ सालमा भएको चुनावमा उनले पर्सा क्षेत्र नम्बर १ बाट जियी भएका हुन् । उनी ४ हजार ६ सय ५१ मतअन्तरले विजयी भएका हुन् । यादव २१ हजार १ सय ३२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनिलकुमार रूंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको विश्वास जितेका उनी सांसद भएपछि एकाएक टाढा भए । यसले पनि उनलाई आफ्नो महत्वकांक्षा पूरा गराउन जे पनि गर्ने तर उद्देश्य पूरा भएपछि विगत बिर्सिने नेताको रुपमा चिनाएको छ । उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग उपेन्द्रले पार्टी एकता गर्नुअघि अर्थात संघीय समाजवादी फोरम नेपालकै रुपमा रहँदा पर्सामा आन्तरिक कलह मच्चाएका थिए । उनले जिल्लामा समानान्तर कमिटी नै बनाउनेगरि अध्यक्ष यादवलाई चेतावनी दिएका थिए ।
त्यसपछि उनी पार्टीलाई समेत जानकारी नदिई स्वतन्त्र तिब्बत पक्षधरहरुको कार्यक्रममा सहभागी भएर विवादमा आए । यादव र राजपा नेपालका सांसद एकवाल अहमद लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर सांसदहरुको कार्यक्रममा सहभागी भएर विवादमा आएका थिए । त्यतिवेला, चीनसमेत पार्टी अध्यक्ष यादवसँग रुष्ट बनेको थियो । उपेन्द्र यावदले विज्ञप्ति जारी गर्दै यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए अनुशासनको कारबाही गर्ने समेत बताएका थिए । तर, पछि यो विषय त्यतिकै सेलाएर बसेका थिए । त्यतिवेला एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै समाजवादी पार्टीले विवादास्पद भ्रमणका क्रममा सांसद यादवले राखेको धारणाले पार्टीको विचारको प्रतिनिधित्व नगर्ने समेत प्रष्ट पारेको थियो ।
अहिले सांसद यादव आफ्नै पार्टी फुटाउन गुटबन्धी गरेको चर्चा भएपछि विवादमा आएका छन् । समाजवादी पार्टी र राजपा नेपालबीच एकता हुने भएपछि मात्रै उनले आफू पार्टी फुटाउने खेलमा नलागेको अभिव्यक्ति दिएका थिए । पार्टी फुटाउनको लागि यादवले नै मुख्य भूमिका खेलेको अहिले पार्टीभित्रैबाट चर्चा चल्न थालेको छ । कतिसम्म भने समाजवादी पार्टी फुटाउनको लागि होटल म्यारिएटमा असन्तुष्ट सांसदहरुलाई पनि उनकै नेतृत्वमा त्यहाँ जम्मा गरिएको थियो ।
आफ्नै पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ, र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपहरण गरेको भनेर बोलेको सवालमा यादवले भने सुरेन्द्रको दाबी असत्य भएको भन्दै खण्डन गरेका थिए । उनले बरु, पार्टी फुटाउनको लागि सुरेन्द्र यादवले नै नेतृत्व गरेको आरोप लगाएका थिए । FILE PHOTO