Logo

नायक क्षमताका खलनायकहरू !



देवप्रकाश त्रिपाठी: नायक र खलनायक दुवैमा विशेष, तर एकैप्रकारको क्षमता हुन अनिवार्य मानिन्छ, त्यो हो– अभिनय क्षमता । सिनेमाका दर्शकहरू नायकप्रति सकारात्मक तथा खलनायकप्रति नकारात्मक धारणा बनाएर सिनेमा हालबाट बाहिरिँदै गर्दा खलनायकको अभिनय–क्षमताको पनि प्रशंसा गरिरहेका भेटिन्छन् । क्षमताको दृष्टिले नायक र खलनायक दुवै बराबरीमा हुन सक्छन्, तर भूमिका बराबरी हुँदैन, जब कि भूमिकाकै आधारमा दर्शक (मानिस) को धारणा बन्ने गर्दछ । कसैमा क्षमता हुनु र भूमिका निर्वाह गर्नु दुई भिन्न पक्ष हुन्, हरेक क्षमतावान मानिस योग्य र इमानदार हुन्छन् भन्ने होइन र क्षमतावान मानिसको भूमिका राम्रै भइरहन्छ भन्ने पनि होइन ।

कुख्यात अपराधी चार्ल्स शोभराज क्षमताका दृष्टिले नेपालका कुनै पनि नेताभन्दा अगाडि छन् । विश्वचर्चित भारतीय ठग नटवरलाल आफ्नो क्षमताप्रति यति आत्मविश्वासी थिए कि उनी आफ्नो दिमागको उपयोग भारत सरकारले नगरिदिएकोमा अत्यन्त दुःखी रहन्थे । करिब साढे तीन दशकअघि सत्तरी वर्ष नाघिसकेका नटवरलाललाई भारतीय प्रहरीले पक्राउ गरेपछि एक पाक्षिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले भनेका थिए, ‘मेरो दिमागलाई भारतले उपयोग नगरेकोमा दुःखी छु, यदि मेरो दिमागको उचित प्रयोग गरेको भए भारत आज संसारकै सबैभन्दा धनी मुलुक बन्न सक्थ्यो ।’ यसरी क्षमताको उपयोग नगरिदिएकोमा भारतप्रति गुनासो गर्ने नटवरलाल स्वयम्ले आफूलाई सकारात्मक भूमिकामा केन्द्रित गर्न पनि त सक्थे ! तर, उनी आफैँ सकारात्मक भूमिकामा देखा पर्न अनिच्छुक रहे र क्षमताअनुरूप निर्वाह गरेको भूमिकाले उनलाई ठगीको पर्यायबाची शब्द ‘नटवरलाल’को रूपमा स्थापित गरायो ।

त्यस्तै, प्रचण्ड, बाबुराम र अन्य कतिपय राजनीतिजीवीहरू क्षमताको दृष्टिले विशेष भए पनि उहाँहरूलाई भूमिकाले नायक बनाउने दिशातिर डोऱ्याइरहेको छैन । शरीरका कणकणमा क्यान्सरझैँ फैलिएको अति महत्वाकाङ्क्षा र कुण्ठाले उहाँहरूलाई नायकभन्दा गैरनायकका रूपमा स्थापित गर्दै लगेको छ । कुनै खास विषयमा विद्यावारिधि गरेका या एसएलसी परीक्षामा ‘बोर्डफर्स्ट’ भएकै आधारमा मानिसलाई सकारात्मक रूपमा ग्रहण गर्न सकिँदैन र हुँदैन भन्ने ज्ञान बाबुराम भट्टराईले नेपाली समाजलाई आफ्नो भूमिकामार्फत दिनुभएको छ । एकताको प्रश्न आउँदा विभाजनको पक्षमा उभिएर, सदभावको आवश्यकता पर्दा दुर्भावना फैलाएर र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई स्मरण गर्नुपर्ने दिनमा कुनै डलरजीवी आङकाजीहरूको प्रशस्ती गाएर बाबुराम भट्टराईले आफूलाई नेपालको एक कुख्यात द्रोहीको रूपमा स्थापित गर्नुभएको छ । अति महत्वाकाङ्क्षा नामक असाध्य रोगबाट पीडित बाबुराम भट्टराई किशोरवयमा काङ्ग्रेसनिकट बन्नुभएको थियो । रहस्यमयी र सन्देहास्पद एवम् राष्ट्रद्रोहीसमेत मानिने ऋषिकेष शाहको विशेष कृपाबाट छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने मौका पाएपछि उहाँ रातारात वामपन्थी कम्युनिस्टमा रूपान्तरित हुनुभयो । ०४६ को जनआन्दोलनमा नेपालीको भावनाभन्दा कुनै बाह्यशक्तिको इशारा र इच्छाअनुसार क्रियाशील हुनुभएको उहाँ ०४६ को परिवर्तनसँगै बदलिनुभयो ।

देशभक्त र प्रजातन्त्रवादी शक्तिलाई गोलबद्ध गर्ने राजनीतिक दल दर्ता गर्ने क्रममा बाबुराम मार्क्सवादबाहेक माओ लेनिन आदि कुनै कम्युनिस्ट क्रान्तिकारीका विचार स्वीकार नगर्ने निष्कर्षमा पुग्नुभएको थियो । दर्ता गर्न खोजिएको दलमा पदाधिकारी राख्ने मानिसको खोजी गर्दै जाँदा भट्टराई ‘मार्क्सवाद एउटाचाहिँ भनिदिउँन’ भन्ने तहमा हुनुहुन्थ्यो । ‘मार्क्सवादसम्म चाहिँ भनिदिने’ मानसिकताका साथ बाबुरामले ‘संयुक्त जनमोर्चा’ नामक दल निर्वाचन आयोगमा दर्ता गरेको चार वर्ष नबित्दै उहाँ रातारात बदलिएर ‘माओवादी’ बन्नुभयो । माओवादीलाई अघि सारेर विदेशीद्वारा नेपालविरुद्ध रचिएको हिंसात्मक युद्धमा शिखण्डी भूमिका ‘कुशलतापूर्वक’ निर्वाह गरेर प्रधानमन्त्रीसम्म बनेपछि बाबुरामले ‘माओवादी आन्दोलनको औचित्य सकिएको’ देख्नुभयो र सरकारबाट बाहिरिएलगत्तै गैरकम्युनिस्ट चरित्रको नयाँ राजनीतिक दल गठनको तयारीमा उहाँ लाग्नुभयो ।

धुमधामका साथ करोडौँको खर्चमा जुटाइएका मानिसका बीच ‘नयाँ शक्ति’ नाममा एउटा ‘प्रजातान्त्रिक’ दल बनाएर बाबुरामले हामी सबैलाई देखाइदिनुभयो । सबैले ठाने– बाबुराम भट्टराई कम्युनिस्ट आन्दोलनबाट पूर्ण रूपले अलग्गिनुभयो । तर, जब संसदीय निर्वाचन (२०७४)को पूर्वसन्ध्यामा नेकपा एमाले र माओवादीबीच एकता हुने भयो, त्यसपछि बाबुराम थामिन सक्नुभएन । छलाङ मार्दै सभागृह पुगेर ‘आफू पहिल्यैदेखि कम्युनिस्ट एकताको पक्षमा रहेको’ घोषणा गर्न उहाँले सङ्कोच मान्नुभएन । यद्यपि, भट्टराईले आफूलाई एकीकृत कम्युनिस्ट आन्दोलनको नेताको रूपमा प्रस्तुत गरे पनि केपी शर्मा ओली र प्रचण्डले उहाँलाई सुहाउँदो जिम्मेवारी दिन सक्नुभएन । बाबुराम घुसेपछि पार्टीभित्र कुनै पनि दिन कुनै पनि निहुँमा विग्रह पैदा गरिन सक्छ भन्ने त्रास दुवै नेतामा थियो । त्यसैले बाबुरामलाई ठाउँ दिन केपी र प्रचण्ड तयार हुनुभएन ।

एकीकृत कम्युनिस्ट पार्टीले ठाउँ दिने सम्भावना नदेखिएपछि निर्वाचनको ठीकअगाडि ‘काङ्ग्रेसको नेतृत्वमा मात्र समृद्धि सम्भव भएको’ घोषणा गर्दै उहाँ काङ्ग्रेसलाई वैशाखी बनाएर चुनावी मैदानमा उत्रिनुभयो । चुनावमा ‘नाक जोगाउन’ सफल भएपछि निरन्तर छटपटिएको अवस्थामा देखिनुभएका बाबुराम अहिले पुरानो शक्ति, नयाँ शक्ति सबै छोडछाड गरी क्षेत्रीयतावाद र जातिवादमा आधारित भएर राजनीतिक आवरणमा बेग्लै धन्दा चलाइरहेको समूहमा आबद्ध हुन पुग्नुभएको छ । ‘पोकर फेस’ भएकोले गम्भीर र स्थिर देखिए पनि बाबुराम भट्टराई नेपाली राजनीतिजीवीमध्ये सबैभन्दा अस्थिर, आत्मकेन्द्रित र राष्ट्रियताविरोधीको रूपमा चिनिन थाल्नुभएको छ । पञ्चायतकालमा ‘नायक’झैँ चर्चामा रहनुभएका बाबुरामलाई उहाँको भूमिकाकै कारण अचेल मानिसहरू नायक शब्दका अघिल्तिर दुई अक्षर ‘खल’लाई जोडेर मात्र चिन्ने गर्छन् ।

क्षमतामा अब्बल भएर पनि भूमिकाले भिन्न पहिचान बनाएको अर्का व्यक्ति हुनुहुन्छ प्रचण्ड । उहाँबारे अनेक सन्दर्भमा अनेकौँ कोणबाट लेखिएको हुँदा यहाँ धेरै शब्द खर्च गरिरहन आवश्यक ठानिएको छैन । बाबुरामसँग मिल्ने उहाँको एउटै गुण भनेको अति महत्वाकाङ्क्षी, पदमुखी, आत्मकेन्द्रित व्यवहार र निजी आकाङ्क्षा पूर्तिका निम्ति जेसुकै गर्न तयार रहने प्रवृत्ति मात्र हो । हठी भएर पनि उदार र लचकदारजस्तो देखिनसक्नु, निर्दयी र निर्मम भएर पनि दयालुजस्तै व्यवहार गर्न सक्नु, चरम आत्मकेन्द्रित भएर पनि अन्यको (जनताको) लागि क्रियाशील रहेको देखाउन सक्नु प्रचण्डको विशिष्ट क्षमता हो । उहाँको यस्तै चरित्रलाई कतिपयले ‘राजनीतिक’ पनि भन्ने गरेका छन् । तर, प्रचण्ड जहाँ उभिनुहुन्छ त्यसैको सत्यानास हुन्छ भन्नेचाहिँ परिणामले सिद्ध गरेको छ ।

उहाँ कास्कीको ढिकुरपोखरी नामक गाउँमा जन्मिनुभएको थियो, जन्मिएको केही वर्षमै पुर्ख्यौली गाउँ सदाको निम्ति छोडेर प्रचण्डका पिता परिवारसहित बसाइँ सर्न बाध्य हुनुभयो । प्रचण्डलाई कम्युनिस्ट पार्टीको सदस्य बनाउने भक्तबहादुर श्रेष्ठ (शेरसिंह) ले अपमान र उपेक्षाको प्रताडनाका बीच जीवन गुमाउनुपऱ्यो । अन्य वरिष्ठ नेता हुँदाहुँदै कनिष्ट प्रचण्डलाई आफ्नो उत्तराधिकारी बनाएर पार्टी महामन्त्रीको जिम्मेवारी सुम्पिनुहुने मोहन वैद्य किरणलाई प्रचण्डले कुन अवस्थमा पुऱ्याइदिनुभएको छ, त्यो सबैले देखिरहेका छौँ । २०६२ सालमा १२बुँदे सम्झौता हुनुभन्दा केही अघि मोहन वैद्य र सीपी गजुरेललगायतका नेताहरू भारतमा किन पक्राउ परेका थिए भन्ने विषयमा खोजबिन गरियो भने डरलाग्दो यथार्थ हाम्रो सामुन्ने प्रकट हुन सक्छ ।

आफ्नै जीवनमा सकारात्मक परिवर्तन खोज्ने युवालाई हजार सपना देखाएर बन्दुक बोकाइयो, प्रचण्डका हरेक कदममा साथ दिने ती युवाको हालत आज कस्तो छ ? काङ्ग्रेस आई नेतृत्वको भारत र पश्चिमा शक्तिको आड लिएर सिंहदरबारसम्मको यात्रा तय गर्न सफल प्रचण्डले अहिले भारत र अमेरिकासँग कस्तो व्यवहार गर्नुभएको छ । बीपीलाई छोडेर प्रचण्डलाई अपनाउन निर्लज्ज ढङ्गले अग्रसर गिरिजाप्रसाद कोइरालाले प्रचण्डबाट कति गहिरो प्रताडना व्यहोर्नुपऱ्यो ? अनेकौँ मोडमा साथ दिएर प्रचण्डलाई एउटा उचाइसम्म पुऱ्याउन मित्रवत सहयोग पुऱ्याउने नारायणकाजी श्रेष्ठलाई संसद्भित्र जननिर्वाचित प्रतिनिधिका रूपमा संसद् प्रवेश गर्नबाट कुन तरिका अपनाएर रोक्नुभयो ? गत (२०७४, मङ्सिर) संसदीय निर्वाचनमा सात स्थानमा विजय हासिल गर्न नसक्ने अवस्थाको ‘माओवादी’लाई सैंतीस सिटमा जिताउने र एउटा सुदृढ एवम् सशक्त पार्टीको कार्यकारी अध्यक्षसम्म बनाइदिने केपी शर्मा ओली यतिबेला प्रचण्डबाट कस्तो ‘यातना’ भोग्दै हुनुुहुन्छ त्यो हामी देख्दछौँ र, प्रचण्ड बाँचिरहनुभएको देशले उहाँकै कारण कुन हदसम्मको सङ्कट झेल्दै छ, त्यो पनि संसारका सामु छर्लङ्ग छ ।

प्रचण्डमा जस्तोसुकै प्रकारको क्षमता भए पनि उहाँको भूमिकाले सिङ्गै देश र समाजलाई सकसपूर्ण अवस्थामा पुऱ्याएको महसूस आमदेशवासीहरूले गरिरहेका छन् । त्यसैले क्षमता नभई भूमिकाका आधारमा मानिसको मूल्याङ्कन गर्नु उपयुक्त हुनेछ । भूमिकाले प्रचण्ड र बाबुरामलगायत अधिकांश राजनीतिजीवीलाई गैरनायक प्रमाणित गरेको छ । गैरनायकहरूबाट हुने कामको सकारात्मक परिणाम कहिले हासिल हुन सक्ला ? यो वर्तमानको सर्वाधिक उचो प्रश्न बन्न पुगेको छ । (घटना र विचार साप्ताहिकका सम्पादक देवप्रकाश त्रिपाठीको यो लेख साभार गरिएको हो)



प्रतिक्रिया दिनुहोस्