Logo

छाब्दी बराही मन्दिर



नेपाल कै प्रसिद्ध धार्मिक स्थल मध्ये छाब्दी वराही मन्दिर एक हो । यो तिर्थ स्थल तनहुँ जिल्लामा अवस्थित छ । यहाँ भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ । छाब्दी वराही र तनहुँ कै ढोर बाराही मन्दिर दिदि बहिनी मानिन्छन् । यहाँ महिनावारी भएका महिलाहरु र तीनीहरुको श्रीमानले पनि दर्शन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

यस कुण्डका माछा मरेमा पुजारीले हिन्दु धर्म अनुसार कोरामा बसेर विधिपुर्वक किरीया बस्नुपर्ने नियम छ । औशी, एकादशी र साउन महिनामा भने बलि दिने वा पुजा गर्ने चलन छैन । ब्यास ऋषिकी आमा मत्श्य कन्याले छाब्दी देवीको रुपधारण गरी उक्त स्थानमा उत्पति भएकोले पुजा हुदै आएको मन्दिरमा रहेको शिलालेखमा उल्लेख छ । वि.स १८०० जेठ महिनाबाट छाब्दीमा पुजा सुरु भएको थियो । जहर सीं आलेमगरको गाई गोठमा बास माग्न गएकी बालिकाको रुपधारण गरेकी देवीको निर्देशन अनुसार पुजा सुरु गरिएको थियो ।

धेरै वर्ष अघि थाहा नै नभई शिवजी को विर्य पान गरेको एक माछालाई माझीले जालमा पारेछन् । सन्तान नभएका माझीले काटेर हेर्दा कन्या देखेछन् र लालपालन आफैले गर्दै जादा विस्तारै माझी बुढो हुँदै गए । उनी बुढो भएकोले ती कन्या आफैले डुङ्गा चलाउन थालिन् ।

एक दिन परासर ऋषि पारी तर्न लाग्दा देवी रुपी कन्याको रुप देखेर तत्कालै कुहिरो उत्पन्न गराई संभोग गरे र गर्भ बस्यो । तिनै कन्याको कोखबाट वेदव्यासको जन्म भयो । आफु कन्या हुँदा हुदै आमा भएर सबैको आँखामा नराम्रो भएको गुनासो गरेपछि वेदव्यासले आमालाई भनेछन्, “आमा म हजुरलाई पुर्व दिशामा रहेको पवित्र ठाउँमा कुण्ड बनाई एक सय तीन स्थानको पवित्र जल ल्याएर कुण्डमा राख्नेछु जहाँ कलियुगमा तपाइँलाई छाब्दी बराही देवी भनेर सबैले पुजा गर्नेछन् । ”

वि.स १८०० मा एक साझमा देवी बालिकाको रुप धारण गरी श्री जहरसी आलेमगरको गाई गोठमा बास माग्न पुगेछन् । मगरले बास दिन्छु तर खान चाही दिन सक्दिन भनेपछि, “ मलाई केही चाहिदैन म बाराही देवी हु म तलको कुण्डमा शिला भई उत्पन्न हुन्छु तिम्रो सन्तानले मेरो पुजा अर्चना गर्नु । ” भनेर हराएछन् । भोली पल्ट जहरसीं आलेमगर कुण्डमा गएर हेर्दा शिला भेटेकाले त्यस दिन देखी नै उनी र उनका सन्तानहरुले पुजा अर्चना गर्दै आएका छन् ।

फोटोः देवी छाब्दी बाराही मन्दिर फेसबुक



प्रतिक्रिया दिनुहोस्