Logo

नयाँ सहर निर्माण थालिने



काठमाडौँ, १७ वैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत काठमाडौँ उपत्यकाको जनचाप व्यवस्थापन गर्न आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताएका छन् ।

सहरी विकास मन्त्रालयमा मङ्गलबार सांसद सँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा–छहरे सुरुङमार्गदेखि निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्ग सम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माण गर्न प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।
उनले उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तर्गत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिनेछ । यस्तै गल्छीदेखि नुवाकोटको चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ भने ।

आगामी आर्थिक वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउँदै उहाँले आगामी वर्षको बजेट मार्फत कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानामुनि बसाल्ने सरकारको योजना रहेको जानकारी दिएका छन् । त्यसैगरी सीमान्तकृत र अति विपन्न परिवारका लागि राज्यले आर्थिक सहायता मार्फत फुस र खरका छाना विस्थापन गराई आधुनिक जस्तापाताका छाना निर्माणमा सहयोग गर्नेगरी बजेट व्यवस्थापन थालिएको उनले बताएका छन् ।

कोरोना महामारीका कारण आगामी आर्थिक वर्षको बजेटमा केही सीमित रहे पनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तीमा एक नयाँ कार्यक्रमसहित बजेट व्यवस्थापन गरिने जानकारी उनले दिएका छन् । मन्त्रालयका सचिव मधुसूूदन अधिकारीले केही नयाँ कार्यक्रमसहित नयाँ बजेटको तयारी थालिएको जानकारी दिएका छन् । चालू अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथ सहितको नयाँ सहर आयोजना र कम्तीमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउने गरी बजेट ल्याउन लागिएको उनले बताएका छन् ।

सो अवसरमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, काठमाडौँका जीवनराम श्रेष्ठ, नुवाकोटका बहादुरसिंह लामा, बैतडीका दामोदर भण्डारी, सिन्धुलीका गणेश पहाडी, नुवाकोटका नारायण खतिवडा, बाजुराका लालबहादुर थापा, डोटीका प्रेम आले र कैलालीका नारदमुनि राना लगायत सांसदको सहभागिता थियो । ( गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्