Logo

ओलीले पार्टीभित्र विरोधीबीच दुरी बनाइदिए, खनाल र वामदेव माधव नेपालसँग सशंकित



काठमाडौं, १७ वैशाख । झगडा पार्न जुक्ति चाहिन्छ, मिलाउन झन् ठूलो जुक्ति चाहिन्छ । यतिबेला नेपाल कम्युनिस्ट पार्टीभित्र चार प्रभावशाली नेताहरु एकजुट भएको सतहमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष वामदेव गौतम लामो गृहकार्य र विकसित घटनाक्रमले एक भएका हुन् ।

नेताहरु एक भएर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने सम्मको रणनीति तयार गरेर अगाडि बढे । तर, ओलीले यी चारजनाबीच फेरि दुरी बढाइदिएका छन् । उनले नेताहरुलाई एक्ला एक्लै भेटेर आपसी अविश्वास खडा गरिदिएका छन् ।

ओलीले माधव नेपाललाई उनी निकटलाई मुख्यमन्त्री र मन्त्री बनाइदिने सम्मको प्रस्ताव लगे । प्रचण्डलाई पनि त्यस्तै प्रस्ताव लगे । वामदेव गौतमको राष्ट्रियसभा सदस्य बनेर उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने चाहना छँदैछ । झलनाथ खनाल राष्ट्रपति बन्ने ढोका खोल्न चाहन्छन् । सबैको आ आफ्नो स्वार्थ बुझेका ओलीले विश्वासपात्र खटाएर राजनीतिक लेनदेनको प्रस्ताव लगे ।

विशेषगरी पूर्व एमाले एक हुनुपर्छ भन्दै ओली र माधव नेपाल निकट गुटका दोस्रो तहका नेताहरुबीचको बैठकले एकजुट भएका चार प्रभावशाली नेताहरुबीच नै विश्वासको संकट बढेको छ । नेताहरुले एकले अर्कालाई धोका दिनसक्ने गरी भेटघाट तिव्र पार्दै लगेपछि विश्वासको संकट बढेको हो । यसको प्रत्यक्ष फाइदा प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो ओलीसँग बालुवाटारमा भेट गरे । भेटमा के कुरा भयो भनी अर्को गुट सशंकित बनेको छ । यसअघि माधव नेपालले पनि ओलीलाई भेटेका थिए । त्यो भेटले अरु नेताहरुलाई सशंकित बनाएको छ । समय बित्दै जाँदा ओलीले पार्टीभित्र र बाहिर खेल्ने समय निकै पाएको चर्चा नेकपाभित्र चल्न थालेको छ । यतिसम्मकी प्रचण्ड पक्षीय स्थायी कमिटिका तीन सदस्य खुलेर ओलीको पक्षमा देखिएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट र दिनानाथ शर्मा ओली हटाउन नहुने पक्षमा उभिएका हुन् । यसले नेकपाभित्र गुट परिवर्तनको नयाँ परिस्थिति सृजना भएको छ । अब नेकपाभित्रको विवादले जसरी हुडल्ने गतिविधि भएको त्यसले पूर्व एमाले र पूर्व माओवादीको पहिचान नै समाप्त हुने अवस्था बनेको छ ।

विरोधी नेताहरुबीच ओलीले विश्वासको संकट बढाइदिने अस्त्र प्रहार गरेर ओलीले आफ्नो सत्ता सुरक्षित पारेका छन् । यसले ओली तत्काल पदबाट नहट्ने परिस्थिति विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्