Logo

के प्रचण्ड र माधव नेपालले ओलीको राजीनामा माग्लान् ?



काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको साँझ बस्ने सचिवालय बैठकले ओली सरकारको भविष्यबारे प्रष्ट पार्ने अपेक्षा गरिएको छ । पछिल्लो समय विवादास्पद निर्णयका कारण आलोचित भएको ओली सरकारमाथि चौतर्फी घेराबन्दी भइरहँदा सचिवालय बैठक बस्न लागेको हो ।

आजको बैठकमा ओली रक्षात्मक र उनलाई हटाउने तयारी गरेका नेताहरु आक्रामक रुपमा प्रस्तुत हुने बुझिएको छ । ओलीविरुद्ध संसदीय दल र स्थायी समितिमा बहुमत रहेको दाबी पक्ष विपक्षमा रहेका नेताहरुको रहँदै आएको छ ।

आजको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कसरी प्रस्तुत हुन्छन् भन्ने विषय महत्वपूर्ण रहेको छ । प्रचण्डले अहिलेसम्म ओलीको राजीनामा मागेका छैनन् । उपाध्यक्ष बामदेव गौतमले राजीनामा मागिसकेको विषय बाहिर आएपनि यसलाई उनले खण्डन गरिसकेका छन् ।

आजको बैठकमा प्रचण्ड र माधवकुमार नेपाल एकजुट भई प्रस्तुत भएमा राजीनामा माग्ने सम्मको अवस्था बन्नसक्ने विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसका लागि दुवै नेताले आन्तरिक तयारी पूरा गरिसकेका छन् ।

ओलीले आफूलाई हटाउने प्रस्ताव आउनसक्ने देखेर पार्टी र संसदीय दलमा बहुमत रहेको प्रमाण प्रस्तुत गर्ने भएका छन् । त्यसका लागि उनले आजै हस्ताक्षर अभियान चलाए । ओलीले आश्चर्यजनक रुपमा प्रचण्ड पक्षधर नेताहरु पूर्व सभामुख कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, दिनानाथ शर्मालाई आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

आजको बैठकमा निकै चर्काचर्की बहस हुने देखिएको छ । बैठकमा ओलीको राजीनामा माग्ने पक्षमा बामदेव गौतम भने नपुगेको बुझिएको छ । उनी पार्टीको निर्णय अनुसार सरकार संचालन हुनुपर्ने पक्षमा उभिएका छन् । वरिष्ठ नेता झलनाथ खनाल ओलीविरुद्ध विगत देखिनै कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनले आजको बैठकमा कडा प्रस्तुतीको तयारी गरिसकेको बुझिएको छ । खनाल ओलीको बर्हिगमनको पषमा देखिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्