Logo

गोरखा दरवार नजिकै गुफामा बस्थे द्रव्य शाह



गोरखा जिल्लाको गोरखा बजारदेखी माथी डाँडामा गोरखा दरबार, गोरखनाथ गुफा र गोरखकालीकाको मन्दिरहरु रहेका छन् । गोरखा दरवारको प्रागंणमा गोरखकालीको मन्दिर छ र गोरखनाथको गुफा त्यसको पुर्वतिर पर्छ । प्राचिन समयमा गोरखामा पृथ्वीनारायण शाहका सन्तानहरुले शासन गर्थे । पृथ्वी नारायण शाहको जन्म गोर्खा दरबारमा नै भएको हो भने त्यति बेला गोरखा नै राजधानी थियो ।

पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरेपछि काठमाडौ उपत्यकामा राजधानी सारीयो र उक्त दरबारलाई पुरातात्वीक महत्वको क्षेत्रको रुपमा स्थापित गरीयो । किंवदन्ती अनुसार उपत्यकाका मल्लकालिन राजाहरुले र गोरखाको शासकहरुले गोरखनाथलाई सिद्धिप्राप्त व्यक्तिका रुपमा पुजा अर्चना गरेको पाइन्छ । गोरखनाथ, गोरखा, गोरखा दरवार र गोरखकाली सबै यीनीहरुसँगै जोडिएका छन् ।

द्रव्य शाहले गोरखा राज्यको स्थापना गर्नु पहिले दरबार नजिक गुफामा बस्ने गरेको किवंदन्तीमा उल्लेख छ । उनी बसेकै विश्वास अनुसार गुफामा गोरखनाथको पुजा अर्चना चल्न थालेको पाइन्छ । उक्त गुफामा हाल पनि पिठोको रोट चढाएर गोरखनाथको पुजा गरिन्छ । उनै गोरखनाथले पृथ्वीनारायण शाहलाई जुठो दही खान दिएको किंवदन्तीमा उल्लेख गरीएको छ । गोरखाको इष्टदेवी गोरखाकालीको मन्दिर पनि दरबार कै प्रांगणमा अवस्थित छ । उक्त मन्दिरको स्थापना राम शाहले गरेका थिए । कालीको चर्तुभुज मुर्ति पनि राम शाहले नै निर्माण गरेका हुन् । मन्दिरको निर्माण तला तला थपेर गरीएको छ । नेपालको इतिहासमा नै गोरखाकालीलाई साक्षात देवीको रुपमा लिइन्छ । श्रोेत राजुनेपाल.कम



प्रतिक्रिया दिनुहोस्