काठमाडौं, १७ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन घण्टा लामो छलफलमा कुनै ठोस सहमति नभएको बुझिएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पछिल्ला विषयमा गम्भिर समिक्षा भएको र सचिवालयको अर्को बैठक यही बैशाख २० गते बस्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने,”सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नुभएको स्थायी कमिटीको बैठकको मागको बारेमा र योसँग विविध पक्षका बारेमा गम्भिर बहस भयो । छलफल जारी छ । यस बीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक प्रक्रियाहरुको गृहकार्यपनि अघि बढाउँदै २० गते सचिवालयको बैठक बस्ने निर्णय गरेको छ । सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्कत्तासँग मेल खाने, एकतावद्ध ढंगले अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ। आवश्यक प्रस्ताव तयार गर्दै छ । २० गतेको बैठकले स्थायी कमिटीको निर्णय गर्नेछ ।”