Logo

कसरी हुन्छ अन्तिम सँस्कार ?



काठमाडौँ, १८ बैशाख । बेलायतमा प्रायजसो कोरोना भाइरस संक्रमणबाट मृत्यु अस्पतालमा हुने गरेको छ । अस्पतालको बुरिभमेन्ट अफिसले मृत्युको कारण खुलाएर पत्र जारी गर्दछ र मृतकको सरसामान छ भने परिवारलाई हस्तान्तरण गर्दछ । सो प्रमाणपत्र पाएपछि मृतकको परिवारले निजको मृत्यु भएको स्थानको काउन्सिलको जन्म तथा मृत्यु दर्ता कार्यालयमा मृत्यु दर्ता गराउनु पर्दछ ।

पहिले सो प्रयोजनका लागि व्यक्ति स्वयं उपस्थित हुनुपर्दथ्यो भने अहिले अपोइन्टमेन्ट बुक गरेर टेलिफोनमार्फत काउन्सिलले मृत्यु दर्ता गरिदिने गरेको छ । काउन्सिलले मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराएपछि परिवारले फ्यूनेरल डाइरेक्टरलाई सम्पर्क गरी उसको सम्पर्क काउन्सिललाई दिनुपर्दछ । काउन्सिल र फ्यूनेरल डाइरेक्टरले कुन दिन अन्तिम सँस्कार गर्ने तय गर्नेछन् । फ्यूनेरल नर्मल र डाइरेक्ट गरी दुई खालको हुन्छ । नर्मल फ्यूनेरलमा १०र१२ जनासम्म परिवारका सदस्य र आफन्त लैजान पाइन्छ । यो अलि महंगो हुन्छ भने डाइरेक्ट फ्यूनेरलमा परिवारका सदस्यहरु उपस्थित भइरहनु पर्दैन । सम्बन्धित फ्यूनेरल डाइरेक्टरले नै अन्तिम सँस्कार गर्दिन्छन् र यो अलि सस्तो हुन्छ । दुवै फ्यूनेरलमा मृतकको अस्तु दुई वर्षसम्म फ्यूनेरल डाइरेक्टरको कार्यालयमा राखिन्छ र परिवारले चाहेमा लिन सक्छन् ।
बेलायतमा अहिले धेरै गोरखा भूतपूर्व सैनिकहरुको बसोबास छ ।

उनीहरुको अन्तिम सँस्कारमा गोरखा वेलफेयर ट्रष्ट र आर्म्ड फोर्सेस च्यारिटी साफाले सहयोग गर्ने गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका उपाध्यक्ष तथा भूपू सैनिक विभागका प्रमुख प्रेम गाहामगर भन्छन्, “पेन्सन क्रेडिट लिइरहेकाहरुले डिपार्टमेण्ट अफ वर्क र पेन्सनबाट फ्यूनेरलका लागि सहयोग पाउन सक्छन् । यस्तै, साफाबाट सहायता पाउन सक्छन् । एनआरएनए युकेले आर्थिक अवस्था कमजोर भएका परिवारलाई ३०० देखि ५०० पाउण्डसम्म सहयोग गर्छ ।” यस्ता सुविधा युकेभित्र गरिने अन्तिमसँस्कारका लागि मात्र उपलब्ध हुन्छन् । शव नेपाल लैजाने हो भने यी सहयोग पाइँदैन ।

बेलायतमा अन्तिमसँस्कार पनि महंगो छ । अन्तिम सँस्कार गर्न न्यूनतम २ हजार ५०० जति लाग्ने र अधिकतम आफ्नो छनौटअनुसार हुने उपमेयर लक्ष्य गुरुङको अनुभव छ । उनी भन्छन् (‘ठाउँअनुसार फ्यूनेरलको रेट तलमाथि हुनसक्छ।’ बेलायतमा कोरोना संक्रमणका कारण धेरै मानिसहरुको मृत्यु भएर होला अहिले क्रिमेटोरियमहरुले अन्तिमसँस्कार गर्न दिइने समय पनि छोट्याएका छन् । पहिले ३० मिनेटको स्लट दिने गरिएकोमा अहिले त्यसलाई २० मिनेटमा झारिएको छ । (वीनेपालीडटकमबाट)



प्रतिक्रिया दिनुहोस्