काठमाडौं, बैशाख १८ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट वैदेशिक रोजगारीमा रहेका दुई लाख १८ हजार श्रमिक अलपत्र परेका छन्।
वैदेशिक रोजजार विभागका महानिर्देशक एवं कोभिड १९ प्रकोप व्यवस्थापन समितिका संयोजक कुमार दाहालले कोरोनाका कारण ती कामदारले रोजगारी गुमाएको बताए। सेवा क्षेत्र, होटेल, सेक्युरिटी, सप्लाई, फुड एन्ड बेभरेजमा कार्यरत कामदारले रोजगारी गुमाएको अध्ययनले देखाएको विभागले जनाएको छ।
सरकारले ती कामदारलाई तत्काल ल्याउन सक्ने अवस्था नरहेको भन्दै उडान खुल्नासाथ प्राथमिकताका आधारमा कामदार ल्याउने योजना बनाएको छ। महानिर्देशक दाहालका अनुसार चार चरणको योजना बनाएर कामदार ल्याइने बताए। अहिलेको अवस्थामा कामदार ल्याउँदा कोरोनाको जोखिम बढ्ने भन्दै सरकारले तत्काल कामदार ल्याउन चाहेको छैन।
अधिवक्ता सोम लुइँटेलले नियमित उडान कुर्नुभन्दा अहिले नै ल्याउन सके व्यवस्थापन गर्न सजिलो हुने बताए। कामदारको अध्ययन, अन्य कम्पनीमा स्थानान्तरण र अलपत्र कामदारको उद्दारका लागि सरकारले छिटो पहल गर्नुपर्ने सर्वोच्च अदालतले समेत आदेश दिए पनि सरकारले नसुनेको उनले बताएको आजको अन्नपूर्ण पोष्ट्मा खवर छ ।