काठमाडौं, १८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कोरोनाको संक्रमण सकिएपछि राजीनामा दिन तयार भएको भन्दै त्यसपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेसँगै नेकपामा नयाँ तरंग पैदा भएको छ । कतिपयले प्रधानमन्त्री ओलीले आफूविरुद्धको षड्यन्त्र चिर्नको लागि नयाँ रणनीति अख्तियार गरेकोपनि टिप्पाणी गर्न थालेका छन् । तर, सचिवालय बैठकमा आफूलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि उपाध्यक्ष गौतम भने मख्ख परेको स्रोतको दाबी छ ।
सचिवालय बैठकको सुरुवातमै ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका थिए । दाहालले लामो समय ओलीको कार्यशैली र सरकारको कामको बारेमा आलोचना गर्नमै खर्चिएका थिए । आफ्नो सम्बोधनको अन्त्यतिर दाहालले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका थिए । दाहालले आफ्नो राजीनामाको कुरा उठाउनेबित्तिकै ओलीले दाहाललाई एकछिन रोकेर आफैं बोलेको नेकपानिकट स्रोतले जनायो । ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो-“ठीक साथीहरुलाई मैले राजीनामा दिनुपर्छ भन्ने लागेको छ भने म त्यसको लागि तयार छु, तर अहिले होईन् कोरोनाको संक्रमण सकिएपछि म राजीनामा दिन्छु । त्यसपछि वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउँ, उहाँ मात्रै सिनियर नेता प्रधानमन्त्री बन्न बाँकी छ । अरु साथीहरु कोही दुई पटक, कोही एक एक पटक बनिसक्नुभएको छ । अबको पालो वामदेवजीको हो ।”
ओलीको यस्तो सप्राईज प्रस्ताव आएसँगै अध्यक्ष दाहाल, बरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल आश्चर्यमा परेका थिए । सचिवालय सदस्यहरु ईश्वर पोखरेल र विष्णु पौडेलले प्रधानमन्त्री अोलीको प्रस्ताव जायज भएको भन्दै समर्थन जनाएका थिए । तर, नारायणकाजी श्रेष्ठले भने पार्टीलाई विधि र विधानअनुसार लैजानुपर्ने अडान राखेका थिए । उता, रामबहादुर थापा बादलले भने प्रधानमन्त्री ओलीले राजीनामा दिने र वामदेवलाई प्रधानमन्त्री बनाउने दुवै प्रस्ताव गलत भएको भन्दै असहमति जनाएका थिए ।
सचिवालयको बैठकमा आफूलाई प्रधानमन्त्री बनाउनेगरि ओलीले प्रस्ताव ल्याएपछि गौतमले भने खुशी प्रकट गरेका थिए । उनले प्रधानमन्त्रीले यस्तो प्रस्ताव ल्याउनुहुन्छ भनेर आफूले नसोचेको भन्दै खुशी व्यक्त गरेका थिए । कतिसम्म भने यसअघि स्थायी कमिटी बैठक बस्नुपर्ने माग गर्दै आएका उनै गौतम अब अध्यादेश फिर्ता भएकोले स्थायी कमिटी बैठक नबस्दापनि हुन्छ भन्नेमा पुगेका छन् ।
सचिवालय बैठक सुरु हुनुभन्दा केही घण्टा अघिमात्रै प्रतिनिधिसभा सदस्यसमेत रहेकी वामदेव पत्नी तुलसी थापाले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी थिईन् । बालुवाटारमा ओली पक्षधर सांसदहरुले संसदीय दलमा ओलीको पक्षमा बहुमत पुर्याउनेगरि हस्ताक्षर संकलन गरिरहेकै बेला सांसद थापा बालुवाटार पुगेको समाचार बाहिरिएको थियो ।
तर, थापाले आफू हस्ताक्षरको पक्षमा नरहेको भन्दै हस्ताक्षर नगरी फर्किएको केही अनलाईनमै प्रतिक्रिया दिएकी थिईन्। वामदेव पत्नी बालुवाटार पुग्नु र सचिवालय बैठकमा वामदेवलाई अबको प्रधानमन्त्री बनाउनेगरि ओलीले प्रस्ताव गर्नु संयोगमात्रै हो कि वा पूर्व योजना थियो भनेरसमेत अहिले नेकपाभित्र प्रश्न उब्जिएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जनाए । File Photo/Facebook