Logo

वामदेव गौतम अवसरवादी नेता हो, ओलीको विकल्प खोजे दुर्घटना हुन्छ : मुख्यमन्त्री गुरुङ



काठमाडौं, १८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पाँच वर्षको लागि सरकार चलाउनको लागि जनताले नेकपालाई जनमत दिएको भन्दै अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिए मुलुक दुर्घटनामा फस्ने चेतावनी दिएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपालाई अहिलेको जनमतपनि केपी ओलीको कारणले दिएको दाबी गरे । उनले भने,”नेकपाको अहिलेको मत त्यतिकै आएको होईन । जनताले केपी ओलीको लागि यो मत दिएका हुन् ।” उनले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री हुनको लागि म्याण्डेट नै नभएको जिकिर गरे । उनकाअनुसार प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री बनाउनेगरि प्रस्ताव गरेपनि अहिले नै यो सम्भव छैन् ।

उनले वामेदवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव कार्यान्व्यन गर्न जटिलता रहेको सुनाए । राष्टियसभा सदस्य मनोनित गर्दापनि प्रधानमन्त्री हुन नसक्ने र प्रधानमन्त्री बन्नको लागि संविधान संशोधन गर्न नेकपासँग दुई तिहाई बुहमत नरहेको उनको भनाई छ । अर्को, चुनावमा जाने हो । चुनाव जितेर संसदमा आउन नै निकै लामो समय लाग्ने उनको जिकिर गर । उनले भने,”वामदेवजी तत्काल प्रम बन्नुहुन्न । गुरुङले केपी ओली नै ५ वर्षको लागि प्रधानमन्त्री भएकोले उनको विकल्प खोज्न नहुने धारणा राखे ।

उनले प्रधानमन्त्री ओलीजति कसैले पनि काम नगरेको पनि दाबी गरे । अहिले ओलीलाई जनताले नरुचाएको र आलोचना भएको छ भन्ने कुरा उनले आफू मान्न तयार नभएको भन्दै ओलीको लोकप्रियता परीक्षण गर्न जनमतसंग्रहमा जानपनि सुझाएका छन् । ७० प्रतिशत जनता अहिलेपनि केपी ओलीको पक्षमा रहेको उनको दाबी छ ।

ओलीलाई अध्यक्षबाट कसैलेपनि हटाउन नसक्ने बताउँदै महाधिवेशन नभएसम्म ओलीमात्रै नभएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कसैले हटाउन नसक्ने उनको भनाई छ । दुवै अध्यक्ष सहमतिले अर्को महाधिवेशन नभएसम्मका लागि अध्यक्ष भएको उनले जनाए । उनले भने,”केन्द्रीय कमिटीले अध्यक्ष हटाउन सक्दैन् । महाधिवेशन नभएसम्म हटाउन सकिँदैन् । बरु, सहमति भयो भने तेस्रो अध्यक्ष राख्न चाहीँ सकिन्छ ।” File Photo



प्रतिक्रिया दिनुहोस्