काठमाडौँ, १९ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् । मधुमेह र उच्च रक्तचापबाट पीडित अधिकारीको बिहीबार बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत स्व अधिकारीले निरङ्कुशताविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर देखाउनुभएको साहस सबैका लागि प्रेरणादायी रहेको बताएका छन् । सभापति देउवाले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
विसं २००७ अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा स्व अधिकारीले गीत गराएका थिए । उनि रेडियो नेपालकी प्रथम गायिका समेत थिए । स्व अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
यसैगरी काँग्रेसले काठमाडौँ महानगरपालिका– ३१ का पूर्ववडाध्यक्ष गणेशबहादुर खड्गीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व खड्गी प्रतिबन्धितकालदेखि काँग्रेसमा अनवरत लागेर २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका तर्फबाट वडा नं ३१ को वडाध्यक्ष पदमा निर्वाचित भएकी थिइन । खड्गीको बिहीबार काठमाडौँमा निधन भएको हो । उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेकी काँग्रेसले जनाएको छ ।रासस File Photo