Logo

छैन मूल्य हरियो पत्तीको



काठमाडौँ, २० वैशाख । चिया किसानलाई आफ्नो पेसा यतिबेला निल्नु न ओकल्नुझैँ भएको छ । डरत्रासबीच चिया टिपेर उचित मूल्यमा बेच्न नपाएपछि चिया किसान समस्यै समस्यामा छन् । चिया नटिपौँ बोटमै झ्याङ्गिने डर, टिपौँ मूल्य नपाउने पीर ।

यसपटक चिया दिवसमा पनि चिया किसान, उद्योगी, व्यवसायी खुसी भएनन् । हरेक वर्ष वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउने गरिएको भए पनि यसपटक खल्लो भएको हो । यसपटक २४औँ राष्ट्रिय चिया दिवस चियाको राजधानी मानिएको इलामको सूर्योदय नगरपालिकामै मनाइएन । कोराना भाइरस (कोभिड १९)को महामारीपछि गरिएको लकडाउनका कारण समयमा चिया टिपेर बेच्न नपाएका किसानले त चिया दिवसको पत्तै पाएनन् । दुःखले चिया टिपेर उद्योगमा पु¥याउने किसानले चियाको मूल्य पाउने नपाउने टुङ्गो छैन । कतिपय कारखानाले चिया नै फर्काइदिन्छन् त कतिले जोखेर पछि भेटौँला भन्छन् । किसानलाई हातलागि केही पनि छैन । न्यूनतम दैनिक ज्यालादारी, सामाजिक सुरक्षाभत्तालगायत माग राखेर मजदुरले गरेको आन्दोलनका कारण गत साल पनि चिया दिवस मनाइएको थिएन ।

चियाको फस्र्ट फ्लस (पहिलो टिपाइ) गुमाएका किसान र उद्योगी अहिले पनि दोधारमै छन् । एकातिर टिपेको चिया बिकेन, मूल्य पाएनौँ भन्ने किसानको गुनासो छ भने अर्कोतर्फ लामो समयको बन्दाबन्दीका कारण उद्योगले पेमेन्ट गर्ने अवस्था नरहेको उद्योगीको भनाइ छ । सूर्योदय नगरपालिका–१० का चिया किसान कमल घिमिरेले चिया टिप्नु बाध्यता भए पनि उपलब्धि शून्य भएको बताएका छन् । घिमिरेले भने, चिया नटिपौँ बोटै बिग्रन्छ, टिपेर बेच्न लैजाऔँ, पैसा पाइँदैन ।

बन्दाबन्दीका कारण समयमा उद्योग सञ्चालन गर्न नपाएपछि उद्योगी किसानलाई कसरी भुक्तानी दिने भन्ने समस्यामा छन् । सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनका प्रवक्ता बुद्ध तामाङले उद्योग सञ्चालनमा घाटा भए पनि किसानको हितका लागि सञ्चालनको विकल्प नभएको बताएका छन् । तामाङले भने, विश्व बजारमा जाने चियाको भविष्य नै सखाप भएको छ, किसानको मात्र हैन, सिङ्गो चियाको भविष्य के हुन्छ भन्न सकिन्न । नेपाल, भारत, युरोप, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा निर्यात हुने चिया अहिले बगान र गोदाममै हुर्किरहेको छ । किसानले चिया टिपे पनि सबै उद्योगले खरिद गरेर प्रशोधन गर्नसक्ने अवस्था छैन । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्